गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रआसपासमा निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासन ऐन अनुसार जिप्रका काठमाडौँले विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय विमानस्थल र आसपास क्षेत्रमा कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला र नाराजुलुस गर्न निषेध गरेको हो । काठमाडौँका प्रजिअ ईश्वरराज पौडेलद्वारा जारी विज्ञप्तिमा विमानस्थल क्षेत्र संवेदनशील रहने भन्दै शान्ति सुरक्षा तथा आवागमन व्यवस्थापनलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको उल्लेख छ ।
फागुन १ गते शुक्रबार बिहानदेखि लागु हुने गरी विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायत विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा हुन निषेध गरिएको हो ।
उक्त निषेधित क्षेत्रमा अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोध कार्यक्रम गर्न रोक लगाइएको छ । साथै विज्ञप्तिमा निर्वाचन आचारसंहिता लागु भइसकेको हालको अवस्थामा कुनै पनि भेला, जुलुस सामूहिक रूपमा गरिने स्वागत तथा बिदाइ जस्ता कार्यक्रम विमानस्थल क्षेत्रआसपासमा नगर्न आग्रह गरिएको छ । आसन्न निर्वाचन, आगामी फागुन ३ गते महाशिवरात्रि पर्वलगायतका सुरक्षालाई दृष्टिगत गरी यस्तो निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ ।