• २९ माघ २०८२, बिहिबार

भ्रष्टाचार नगर्नेे प्रण गरौँ

blog

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा आयोग परिवारलाई बधाई तथा शुभकामना दिन चाहन्छु । देशमा भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा क्रियाशील रही सुशासन प्रवर्धनमा खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दछु । आयोगको स्थापना दिवसका अवसरमा पुरस्कृत सञ्चारकर्मी एवं आयोगका कर्मचारीलाई बधाई ज्ञापन गर्दछु ।

जनताको ठुलो त्याग, बलिदान र सङ्घर्षबाट जनता आफैँले बनाएको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामीले प्राप्त गरेका छौँ । सहज र सरल तरिकाले जनतामा सेवा प्रवाह तथा सुशासनमार्फत देशको समृद्धि नै हाम्रो संविधान र लोकतान्त्रिक गणतन्त्रले राखेको अभीष्ट हो । संविधान र व्यवस्थाले राखेको यही अभीष्ट पूरा गर्न सम्पूर्ण ध्यान केन्द्रित होस् भनेर नै बेला बेलामा आवाज उठ्ने गरेको र भर्खरै युवा पुस्ताले सङ्घर्षमार्फत आफ्नो त्यही चाहना प्रकट गरेका हुन् भन्ने पनि हामीले नबिर्सौं । 

लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकास, सुशासन, सामाजिक न्याय र समृद्धि हाम्रो चाहना हो । सुशासन र पारदर्शिताबिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पु¥याउन सकिँदैन । जनताको अपेक्षा अनुसारको विकास र समृद्धि हासिल गर्ने प्रमुख र अनिवार्य सर्त नै अख्तियार दुरुपयोगको अन्त्य र भ्रष्टाचार नियन्त्रण हो । लोकतन्त्रले अपेक्षा गर्ने सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्तरूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनका दायरामा ल्याउनै पर्छ । 

अख्तियार दुरुपयोग केवल कानुन उल्लङ्घन मात्र होइन, यो नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथि गरिने गहिरो आघात पनि हो । यसले आर्थिक क्षति वा नैतिक विचलनभन्दा धेरै पर पुगेर राज्य र नागरिकबिचको भरोसाको सेतुमा चोट पु¥याउँछ । जब सार्वजनिक शक्ति व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिन्छ, तब राज्यले नागरिकमाथि गरेको विश्वास मात्र होइन, नागरिकले राज्यप्रति राखेको भरोसा पनि कमजोर बन्छ । यसले शासन प्रणालीप्रति निराशा जन्माउँछ, कानुनप्रति आस्था कमजोर बनाउँछ र लोकतन्त्रको आधारभूत मूल्यलाई क्षति पु¥याउँछ । 

अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि होइन, यो राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती हो । यही चुनौतीको सामना गर्न र विधिको शासन, पारदर्शिता तथा उत्तरदायित्वको रक्षा गर्न आयोगले विगतदेखि गरेको प्रयासका लागि म आयोगप्रति धन्यवाद प्रकट गर्दछु । आज आत्मसन्तुष्ट हुने समय होइन । आयोगले शक्ति र पद हुँदैमा जोकोही कानुनी जवाफदेहिताबाट मुक्त हुँदैन भन्ने विश्वास आमनागरिकमा दिलाउने गरी काम गर्नुपर्ने म अझै खाँचो देखिरहेको छु । 

आयोगलाई अझ प्रभावकारी, अझ स्वतन्त्र, नागरिकप्रति अझ उत्तरदायी र राज्यप्रति अझ जिम्मेवार बनाउने दायित्व हामी सबैको साझा दायित्व हो । भ्रष्टाचारविरुद्धको लडाइँ कुनै एक संस्थाको मात्र जिम्मेवारी होइन; यो राज्यका सबै अङ्ग, राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजको संयुक्त प्रतिबद्धताबाट मात्र सफल हुन सक्छ । अख्तियार दुरुपयोगविरुद्धको सङ्घर्ष अन्ततः न्याय, समानता र सुशासनको पक्षमा उभिने सङ्घर्ष हो । यही सङ्घर्षमार्फत मात्र हामी नागरिकको विश्वास पुनस्र्थापित गर्न, लोकतन्त्रलाई सुदृढ बनाउन र भावी पुस्तालाई स्वच्छ, सक्षम र भरोसायोग्य राज्य हस्तान्तरण गर्न सक्छौँ मेरो विश्वास हो ।

भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो सर्त हो । राजनीतिक पदाधिकारीको कार्य संस्कृतिमा हुने सकारात्मक परिवर्तनले प्रशासनिक क्षेत्रलाई पनि मार्गदर्शन हुन्छ भन्ने म ठान्दछु । सत्ता, शक्ति र धन प्राप्तिको अनावश्यक मोहले प्रक्रिया, पद्धति र प्रणालीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचारतर्फ प्रवृत्ति गराउँछ । बानी, व्यवहार, आचरण र अभ्यासले म भ्रष्टाचार गर्दिन र हुन पनि दिन्न भन्ने प्रण गर्ने हो भने जे, जसरी पनि सत्ता, शक्ति र धन प्राप्तिको मोहलाई नियन्त्रण गर्न सकिन्छ र भ्रष्टाचारलाई जरैदेखि निर्मूल गर्न सकिन्छ । सदाचार, नैतिकता, निष्पक्षता, पारदर्शिता एवं निर्भीकतालाई जीवन पद्धतिकै रूपमा अगाडि बढाएर काम गर्न सकियो भने यो छिट्टै सम्भव छ । यसका लागि नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास होस् भन्ने मेरो चाहना छ । 

अन्त्यमा स्वच्छ, पारदर्शी, जिम्मेवार र भ्रष्टाचारमुक्त राज्य संयन्त्रको निकायका रूपमा आगामी दिनमा आयोगले अझै प्रभावकारी ढङ्गले काम गर्ने नै छ भन्ने विश्वासका साथ म फेरि पनि कसैको दबाब वा प्रभावमा नपरी कसुर र कसुरदार ठुलो वा सानो नभनी काम गर्न आयोग चुक्ने छैन र झुक्ने छैन भन्ने विश्वास व्यक्त गर्दछु । 

(राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा बुधबार गर्नुभएको सम्बोधनको सम्पादित अंश)