• २७ माघ २०८२, मङ्गलबार

निर्वाचन प्रहरीलाई नमुना मतदानको अभ्यास (फोटो फिचर)

blog

निर्वाचनमा खटिने तालिमप्राप्त निर्वाचन प्रहरीलाई नमुना मतदान स्थलको अभ्यास गराइँदै । तस्बिर: अनिल पराजुली

अनिल पराजुली 

हेटौँडा, माघ २७ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने तालिमप्राप्त निर्वाचन प्रहरीलाई नमुना मतदान स्थलको अभ्यास गराइएको छ । जिल्ला सुरक्षा समिति र निर्वाचन कार्यालयका पदाधिकारीहरूको उपस्थितिमा हेटौँडा–४, हुप्रचौरमा निर्वाचन प्रहरीलाई मतदान प्रक्रिया, उनीहरूले निर्वाह गर्नुपर्ने भूमिकाका साथै सुरक्षा प्रक्रियाका विषयमा नमुना अभ्यास गराइएको हो ।

कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले नियुक्तिपत्र बुझेपछि निर्वाचन प्रहरी राष्ट्रसेवक भएकाले तोकिएको दायरा र सीमाभित्र रहेर काम गर्न अनुरोध गर्नुभयो । उहाँले उच्च मनोबलका साथ तोकिएको आचारसंहिताभित्र रहेर काम गर्न आग्रह गर्नुभयो । मतदान केन्द्रमा खटिने कर्मचारी र निर्वाचन प्रहरीको संयुक्त प्रयासबाट नै मतदान व्यवस्थित रूपमा सम्पन्न हुन सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । “एक जना कर्मचारीले गर्ने व्यवहारका कारणले मतदान केन्द्रको सम्पूर्ण निर्वाचन व्यवस्थापनमा असर पर्ने भएकाले आफूले के गर्न हुने र के गर्न नहुने विषयमा ख्याल राख्नुहोला,” उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले मतदातालाई भयरहित वातावरणमा मतदान गर्ने वातावरण मिलाउन निर्वाचन प्रहरीको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले निर्वाचन प्रहरीको सुरक्षा प्रशासनले लिने बताउँदै केही समस्या परे प्रशासनले जिम्मेवारी लिने स्पष्ट पार्नुभयो ।

उहाँले अनुशासनहीन काम गरे निर्वाचन प्रहरीमाथि मुद्दा चल्न सक्ने भएकाले जिम्मेवार भएर पाएको जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताभित्र रहेर काम गर्न निर्देशन दिँदै उहाँले कुनै पनि दल विशेषको प्रचार गर्न निर्वाचन प्रहरीले नपाउने स्पष्ट पार्नुभयो । निर्वाचन प्रहरीलाई पोसाकको दुरुपयोग हुने काम नगर्न आग्रह गर्दै उहाँले मतदाता शिक्षाबाहेक अन्य प्रकारका भिडियो बनाउन नपाउने बताउनुभयो । निर्वाचनमा खटिने निर्वाचन प्रहरीले समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले निर्वाचन प्रहरीलाई पनि अन्य प्रहरी सरह नै व्यवहार गरिने भएकाले नागरिकमैत्री व्यवहार गर्नुपर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “प्रहरीको पोसाक लगाएर आएपछि तपाईंहरू नागरिक होइन, यो समयमा तपाईंहरू निर्वाचन प्रहरी हो, तपाईंहरूले गर्ने व्यवहार नागरिक र लैङ्गिकमैत्री हुनुपर्छ ।” निर्वाचन प्रहरीलाई पनि अन्य प्रहरी कर्मचारी सरह नै व्यवहार हुने भएकाले केही गुनासो भए प्रहरी नायब उपरीक्षकलाई सम्पर्क गर्न सकिने उहाँले बताउनुभयो ।

तालिम अवधिभर निर्वाचन प्रहरीलाई मतदान स्थलको जानकारी, सुरक्षा, भिड नियन्त्रण गर्ने तरिका, निर्वाचन ऐन र कानुनसम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो । दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा एक हजार ९२३ निर्वाचन प्रहरी भर्ना गरिएको छ ।