कविराज घिमिरे
हिले (धनकुटा), माघ २६ गते । उमेरले ८१ वर्षीय वीरबहादुर थापा ‘दादाकाजी’ जीवनको उत्तरार्धमा जन्मगाउँ मुगा फर्कने तयारीमा हुनुहुन्छ । उहाँ गाउँ फर्कन मुगामा रहेको पुरानो घर स्थानीयवासीको सहयोगमा सरसफाइ र रङरोगन गराउँदै हुनुहुन्छ । पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका जेठा दाजुका छोरा, २००१ सालमा हालको पाख्रीबास नगरपालिका–८, मुगामा जन्मनुभएका दादाकाजीलाई जीवनको उत्तरार्धमा जन्मगाउँले तान्यो ।
दादाकाजी २००७ सालमा मुगा छाडेर विराटनगर जानुभएको थियो । १८ वर्षको हुँदा विराटनगरबाट काठमाडौँ जानुभयो र जीवनको ऊर्जाशील समय उतै बिताउनुभयो । काठमाडौँमा जागिर, व्यापार र उद्योग समाल्नुभयो । बुढेसकाल लाग्दै गर्दा सबै कुरा छाडेर २०५७ सालमा विराटनगर आएका दादाकाजीले अहिले विराटनगर छाडेर मुगा रोज्नुभयो ।
आफ्नो सम्पूर्ण जिम्मेवारी छोरानातिलाई सुम्पिएर अब अन्तिम सास फेरुन्जेलसम्म जन्मगाउँमै रहने उहाँ बताउनुहुन्छ । “यो बुढेसकालमा जन्मगाउँले किन तान्यो, थाहा छैन तर अब यहीँ बस्ने, यहीँको हावापानी, वातावरणमा घुलमिल हुने र अन्तिम सास फेर्ने गरी गाउँ फर्किएको हुँ,” दादाकाजी थापा भन्नुहुन्छ । उहाँका दुई छोरामध्ये जेठा छोरा विराट थापा काठमाडौँमा रही बुवाको व्यवसाय समाल्दै आउनुभएको छ । कान्छा छोरा विशाल थापाले दिल्लीमा कन्सल्टेन्सी सञ्चालन गर्दै आउनुभएको छ ।
धनकुटाको मुगामा एक समय निकै चहलपहल थियो । पूर्वप्रधानमन्त्री स्व. थापाको गाउँ तब सुनसान बन्न थाल्यो जब थापाहरूसँगै स्थानीय बासिन्दा पनि बसाइँ सर्न थाले । द्वन्द्वले थप बिथोलिएको मुगा पछिल्लो अढाई दशक गुमनाम झैँ भयो । त्यही समयमा दरबारिया शैलीका मुगाका धेरै घर ढले, मन्दिरका गजुर चोरी भए । अहिले भने मुगामा थापाहरूको चासो बढ्दै गएको छ । मुगाका पुराना भग्न घर र मठमन्दिर पुनर्निर्माण गरिँदै छ । अशोक थापा एक वर्षअघि नै मुगा फर्किएर आउनुभएको छ । इन्दिरा थापाले मुगामै ‘केयर वुमन’ द्वारा अस्पताल सञ्चालन गर्ने गरी एक भवन निर्माण गर्नुभएको छ । पूर्वप्रधानमन्त्री स्व. थापाको कालखण्डमा निर्माण गरिएको यो मन्दिर धेरै समय जीर्ण रह्यो । अहिले पुनर्निर्माणपछि यसले नयाँ रूप पाएको छ । स्व. थापाको जन्मघरसमेत पुनर्निर्माणको तयारीमा छ । यहाँ ‘सूर्यबहादुर थापा मेमोरियल म्युजियम’ बनाउन लागिएको पाख्रीबास नगरपालिका–८ का वडाध्यक्ष गणेश राई बताउनुहुन्छ । “अहिलेसम्म जग्गा घेरबार गर्ने काम भयो, अब घर निर्माण गरी म्युजियम बनाइन्छ,” उहाँ भन्नुहुन्छ ।
एक समय कपिल थापा र विदुर थापामा मात्रै सीमित मुगागाउँमा अहिले जङ्गबहादुर थापा, दीपेन्द्र थापा र फौदसिंह थापाले पनि घर बनाउनुभएको छ । अजितनारायणसिंह थापा, अर्जुन थापा, कुमार थापालगायत पनि पुरानो घरमा बेलाबखत आउनुहुन्छ । गाउँ छाडेका थापाहरूले पुनः मुगागाउँप्रति चासो देखाउन थालेको स्थानीय कपिल थापा बताउनुहुन्छ । “पहिले मुगा छाड्ने व्रmम बढ्यो, अहिले पुनः मुगाप्रति सबैले चासो बढाइरहनुभएको छ र बढाउनु पर्छ पनि । यो खुसीको कुरो हो,” उहाँ भन्नुहुन्छ ।
सदरमुकाम धनकुटा बजारबाट उत्तर पश्चिमतर्फ गाडीमा झन्डै एक घण्टामा पुग्न सकिने मुगा एउटा यस्तो गाउँ हो, जहाँ नेपाल एकीकरणदेखिको इतिहास पाइन्छ । दुई सय वर्ष पुरानो इतिहास र कलाकौशल देख्न पाइन्छ । पृथ्वीनारायण शाहको आदेशमा युद्ध लड्न सरदार रामकृष्ण थापा पोखराबाट गोरखा हुँदै धनकुटाको मुगा पुगेको र त्यहीँ बसोबास गरेको मुगाली थापाको वंशावलीमा उल्लेख छ । त्यस बेला थापाहरूको बसाइसँगै मुगाको चहलपहल बढेको विदुर थापा बताउनुहुन्छ । मुगाका थापाहरू पहिलेदेखि नै सरकारी सेवामा उच्च पदमा छन् । कोही राम्रो व्यापार व्यवसायमा छन् । तिनै थापाहरूको चासो बढेका कारण यहाँको पुरानो रौनक फर्किन्छ कि भन्ने आशा जागेको स्थानीय थामबहादुर राई बताउनुहुन्छ ।
त्यसो त मुगाको मुख्य समस्या भनेको खानेपानी, शिक्षा, स्वास्थ्य र सडक हो । करिब तीन दशकअघि ट्र्याक खोलिएको पाख्रीबास–मुगा–सुनबालुवा सडक अहिलेसम्म कालोपत्रे हुन सकेको छैन । मुगावासीले हिउँदमा धुलो र बर्खामा हिलोको सामना गर्नु पर्छ । खानेपानी र सिँचाइका लागि पानी अभाव छ । माध्यमिक तहसम्मको शिक्षा गाउँमा भए पनि गुणस्तरीय नहुने तथा उच्च शिक्षाका लागि बाहिरिनुपर्ने अवस्था छ । सामान्य उपचारकै लागि पनि सदरमुकाम धाउनुपर्ने अवस्था छ । यो समस्या समाधान गर्न सके थापा परिवार मात्र नभई गाउँबाट बसाइँ सरेर गएका अन्य परिवार पनि आकर्षित हुने स्थानीय गङ्गादेव राई बताउनुहुन्छ । मुगामा ब्राह्मण, क्षेत्री, राई, भुजेल, दलित समुदायलगायत मिश्रित जातजातिको बसोबास छ ।
यो क्षेत्रलाई पर्यटनसँग जोड्न सके मुगामा पुनः चहलपहल बढ्ने जानकारहरू बताउँछन् । पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाको गाउँ, यहाँका पुराना र कलात्मक घर, मन्दिर धेरैका लागि आकर्षण बन्ने वडा सदस्य हेम गिरीको भनाइ छ । त्यसका लागि वडा, नगर एवं प्रदेश र सङ्घ सरकारसँग पनि मिलेर काम गरिरहेको उहाँको भनाइ छ । नजिकै रहेको राजदेवी सल्लेरी वन यहाँको थप आकर्षण हो ।