शङ्कर केसी
सल्यान, माघ २३ गते । निर्वाचन प्रचार प्रसारका लागि उम्मेदवारहरूलाई छुट्टै बैँक खाता खोल्न जिल्ला निर्वाचन कार्यालय सल्यानले पत्राचार गरेको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन प्रचारप्रसार बैँक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ बमोजिम आम्दानी तथा खर्चको विवरण बैँक खातामार्फत नै गर्नुपर्ने भएपछि उम्मेदवारहरूलाई औपचारिक रूपमा जानकारी गराइएको हो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख धिरेन्द्र भण्डारीका अनुसार राजनीतिक दलका तर्फबाट उम्मेदवार बनेकाहरू तथा स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन खर्चको पारदर्शिता कायम गर्न अनिवार्य रूपमा बैँक खाता सञ्चालन गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन बिहीबार पत्राचार गरिएको हो । आयोगको माघ २० गतेको बैठकबाट कार्यविधि स्वीकृत भएपछि यस विषयमा आयोगसँग अन्तरक्रिया समेत भइसकेको उहाँले जानकारी दिनुभयो । सल्यानमा १२ जना राजनीतिक दलका र दुई जना स्वतन्त्र गरेर १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यसैबिच आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनलाई लक्षित गर्दै सल्यानका ८३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा स्वयंसेवक छनोट प्रक्रिया अगाडि बढाउँदै स्थानीय तहहरूलाई सिफारिसका लागि पत्राचार गरिसकेको जनाएको छ ।
जिल्लाका ८३ वटै वडामा एक एक जनाको दरले मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने छ । महिला स्वास्थ्य स्वयंसेविका, बाल विकास सहजकर्ता वा यसअघिका निर्वाचनमा काम गरेका र न्यूनतम एसइई उत्तीर्ण व्यक्तिलाई प्राथमिकता दिइने कार्यालयले जनाएको छ ।
मतदाता शिक्षा कार्यक्रममार्फत मतदातालाई मतदान प्रक्रिया, मताधिकारको महत्त्व, गोप्य मतदानको अभ्यास तथा निर्वाचन आचारसंहितासम्बन्धी जानकारी दिइने छ । यसले मतदाता सहभागिता वृद्धि गर्नुका साथै सचेत र जिम्मेवार मतदान संस्कृतिको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।