चाँदनी आचार्य
घोडाघोडी (कैलाली), माघ १८ गते । कैलालीको घोडाघोडी नगरपालिकाका ट्याक्टर व्यवसायी आईतबार बिहान ट्याक्टरसहित नगरपालिका घेराउ गर्न पुगेका छन् । उनीहरु लामोसमय गिट्टि बालुवा उठाउन नपाएपछि आक्रोषित हुदै नगरपालिकामा दबाव दिन पुगेका हुन् । केहि बेर नाराबाजी गरेका व्यवसायीहरुले नगरपालिकामा तालाबन्दीसमेत गरेका छन् ।
व्यवसायी कुशप्रसाद तिवारीले नगरपालिकाले कानुनी बाटो नखोल्दा ट्रयाक्टर व्यवसायी मात्र होइन काम गरि खाने मजदुर, किसानसमेत समस्यामा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “समयमा नदी, खोला खुल्ला नगर्दा नगरपालिकाको राजश्व घटिरहेको छ भने अर्को तर्फ हामी गरि खानेहरुलाई समस्या भएको छ । असोजमा खुल्ला हुनपर्ने नदी खोला अहिलेसम्म नखोल्दा हाम्रा गाडीघोडा काम नपाएर थन्किएका छन् ।”
अन्दोलनमै रहनु भएका अर्का व्यवसायी लक्ष्मी चौधरीले नगरपालिकाको मुख्य आम्दानीको स्रोत नदी नालाबाट उठ्ने रोयल्टी रहेको उल्लेख गर्दै समयमा खोना नाला नखोल्दा नगरपालिकालाई घाटा हुनुको साथै आफ्नो व्यवसायमासमेत समस्या पुगेको बताउनुभयो ।
घोडाघोडी नगरपालिकाले गत साउनमा पाँच करोड २५ लाख रुपियाँको न्यूनतम मुल्याङ्कनमा नदीजन्य पदार्थ उत्खनन ठेक्का आह्वान गरेको थियो । सो ठेक्कामा सुनसरी इनरुवास्थित एचएम बिल्डर्स प्रा.लिले ६ करोड ४१ लाख ८४ हजार रुपैयाँको बोलपत्र पेश गरेको थियो, जुन नगरपालिकाको मूल्याङ्कन समितिबाट स्वीकृत समेत भएको थियो।
मूल्याङ्कन स्वीकृत भइसकेपछि नगरपालिकाले ठेकेदार कम्पनीलाई सम्झौता गर्न आशयपत्रसमेत जारी गरेको थियो । तर नगरपालिकाका अनुसार ठेकेदार पक्ष समयमै सम्झौता गर्न उपस्थित नभएको भन्दै सम्झौता नगरी ठेक्का रद्द गरिएको थियो । त्यसपछि नगरपालिकाले ठेकेदारले पेश गरेको करिब २८ लाख रुपैयाँ बराबरको धरौती जफत गरेको थियो ।
नगरपालिकाको यस निर्णयको विरोध गर्दै ठेकेदार कम्पनी एचएम बिल्डर्स प्रा.लिले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले ठेकेदार कम्पनीलाई धरौटी रकम फिर्ता गर्न नगरपालिकाको नाममा पुषमा आदेश जारी गरेको हो ।
सर्वोच्चको आदेशपछि नगरपालिकाले माघ ७ गते नयाँ ठेक्का अव्हान गरेको छ । घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले ठेकेदारका कारण गिट्ट बालुवा उत्खननमा ढिलाई भएको बताउनुभयो । पहिलो ठेक्का रद्धपछि ठेक्का आव्हान गरिएको उल्लेख गर्दै प्रकृया पुरा भएर उत्खनन कार्य फागुन अन्तसम्म पुग्नसक्ने उहाँले जिकीर गर्नुभयो । नगरप्रमुख रावतले भन्नुभयो, “असोजदेखि जेठसम्मको अवधिमा तोकिएको मापदण्डमा गिट्ट, बालुवा, ढुङ्गा उत्खनन गर्ने गरी मुल्याङ्कन समितिले तोकेको मूल्यमा ठेक्का आव्हान गरिएको हो । पहिलो ठेक्का रद्ध भएपछि अहिले चारमहिनाका लागि ठेक्का आव्हान गरिएको छ । पाँचवटा नदी, खोलाको अलग अलग मुल्याङ्कन गरी मूल्य तोकी ठेक्का गरिएको छ ।”
एक महिना ठेक्का आव्हान अवधी, सात दिनको आशय पत्र र १५ दिनको सम्झौता गर्ने अवधि रहेपनि माघ पहिलोसाता आव्हान गरेको ठेक्का मितिलाई हेर्ने हो भने प्रकृया पुरा गिट्टि बालुवा उठाउन फागुन अन्तिमसम्म कुर्नु पर्ने देखिन्छ ।