• १६ माघ २०८२, शुक्रबार

कर्णालीमा अब १३२ केभी प्रसारण लाइनबाट बिजुली

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १६ गते । कर्णाली प्रदेशको विद्युत् आपूर्तिलाई भरपर्दो र दिगो बनाउने अपेक्षा गरिएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन तयार भएको छ । करिब चार दशकपहिले बनेको ३३ केभी प्रसारण लाइनका भरमा बिजुली पाइरहेको कर्णाली प्रदेशले शुक्रबारदेखि पहिलो पटक १३२ केभी प्रसारण लाइनबाट विद्युत् प्राप्त गर्ने भएको हो । प्रसारण लाइन निर्माणको सबै काम सकिएकाले शुक्रबार प्रसारण लाइनमा विद्युत् प्रवाह गरेर अन्तिम परीक्षणको कार्य गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ सालमा ठेक्का सम्पन्न भएको सो आयोजना रुख कटान अनुमतिमा भएको ढिलाइ, निकुञ्ज क्षेत्रभित्र गर्नुपर्ने काम, स्थानीयको अवरोध तथा अदालती प्रक्रियाका कारण लामो समय अवरुद्ध हुन पुगेको थियो । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत कोहलपुर–सुर्खेत खण्ड निर्माण सम्पन्न भएको हो । 

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले बाँकेको कोहलपुर सबस्टेसनदेखि सुर्खेतको सुब्बा कुनामा निर्माण भएको सबस्टेसनसम्म ५२ किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रसारण लाइनबाट पहिलो पटक कर्णाली प्रदेशमा विद्युत् आपूर्ति हुन लागेको जानकारी दिनुभयो । 

“पुरानो र सानो क्षमताको प्रसारण लाइनका कारण विद्युत् आपूर्तिमा सकस झेल्दै आएको कर्णाली प्रदेशको तल्लो खण्डमा अब विद्युत् आपूर्ति गुणस्तरीय बन्ने छ,” उहाँले भन्नुभयो, “सुब्बाकुना सबस्टेसनमा जोडिएको बिजुली अब स्थानीय वितरण लाइनमार्फत ग्राहकले गुणस्तरीय बिजुली पाउने अवस्था बनेको छ ।” कोहलपुरदेखि–सुब्बाकुना सबस्टेसनसम्मको ५२ किलोमिटर यो प्रसारण लाइनमा १६१ वटा टावर छन् । सुब्बाकुना हुँदै दैलेखसम्म पनि १३२ केभी क्षमताकै प्रसारण लाइन विस्तार हुने क्रममा छ । यो प्रसारण लाइन गुणस्तरीय विद्युत् आपूर्तिका अतिरिक्त भेरी, बबई र कर्णाली नदी जलाधारमा बन्ने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्न पनि महत्वपूर्ण रहन्छ । अहिले कोहलपुरदेखि नै ३३ केभी प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति हुँदै आएकाले समग्र कर्णाली प्रदेशमा लो भोल्टेज र ट्रिपिङको समस्या उच्च रहँदै आएको थियो ।

प्रसारण लाइन परीक्षण गर्न लागिएकाले प्राधिकरणको सुर्खेत कार्यालयले सार्वजनिक सूचना जारी गर्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवालालाई आह्वान गरेको छ । सूचनामा प्रसारण लाइनका टावरमा नचढ्न, कुनै पनि वस्तुले नछुन, टावरवरिपरि नजान, गाईवस्तुलाई टावरनजिक जान नदिन, खतराका सङ्केत देखाइएका विद्युत् संरचनालाई नछुन र बालबालिकालाई समेत टावर नछुन र नजिक जान नदिन आग्रह गरिएको छ ।

उक्त प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले २०७६ असारमा करिब ८० करोड रुपियाँमा सो आयोजनाको ठेक्का प्राप्त गरेको थियो ।