• १६ माघ २०८२, शुक्रबार

सहिदको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सजगता आवश्यकः मुख्यमन्त्री आचार्य

blog

सन्तोष दहित
दाङ, माघ १६ गते  ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त नागरिक स्वतन्त्रता, संघीय लोकतान्त्रिक गणतन्त्र र संवैधानिक उपलब्धिलाई कमजोर हुन नदिन सबै पक्ष सजग र जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

सहिद दिवस, २०८२ को अवसरमा शुक्रबार जारी सन्देशमा मुख्यमन्त्री आचार्यले संविधान कार्यान्वयन, राजनीतिक स्थायित्व, सुशासन र आर्थिक समृद्धिका क्षेत्रमा चुनौतीहरू कायमै रहेकाले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र नागरिक अधिकारको सुनिश्चितता आजको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ ।

उहाँले नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । सहिद दिवस देश र जनताको हितका लागि प्राण आहुति दिने वीर सहिदहरूको संघर्ष, त्याग र बलिदानको स्मरण गर्ने ऐतिहासिक दिन भएको उहाँको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिकका रूपमा स्थापित गर्दै स्वाधीन, समावेशी र न्यायपूर्ण राज्य निर्माणका लागि सहिदहरूले गरेको बलिदानको सम्मानस्वरूप हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइँदै आएको स्मरण गराउनुभएको छ ।

सहिदहरूले देखेका सपना साकार पार्न तीन तहका सरकार, राजनीतिक दल, नागरिक समाज र आम नागरिकले साझा जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै उहाँले आज प्राप्त भएका सबै राजनीतिक, सामाजिक र संवैधानिक उपलब्धिहरू सहिदहरूको संघर्षकै परिणाम भएको बताउनुभएको छ ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार महान् सहिदहरूको त्याग, समर्पण र बलिदानको उच्च सम्मान गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन र समृद्ध प्रदेश निर्माणमा दृढतापूर्वक प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ ।सहिदहरूको बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत दिगो शान्ति, सामाजिक न्याय, विकास र समृद्धिको आकांक्षा पूरा गर्न अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने उहाँको विश्वास छ ।