• १६ माघ २०८२, शुक्रबार

देशको स्वाभिमानको रक्षा अहिलेको आवश्यकता हो : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा सम्बोधन गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, माघ १५ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशविरुद्ध हुने कुनै पनि समर्पण अस्विकार्य हुने बताउनुहुँदै देशको स्वाभिमानको रक्षा अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । 

आगामी निर्वाचनमा घोषणापत्र तयारीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा विज्ञहरुसँग सुझाव लिने क्रममा बिहीबार अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । उहाँले राष्ट्रियता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट हुन नसक्ने भन्दै त्यसको प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा हुने बताउनुभयो ।  

अध्यक्ष ओलीले सरकारले हालसम्म पनि निर्वाचनको वातावरण बनाउन नसकेको टिप्पणी गर्नुभयो । ‘पार्टीले हाल राज्यले गरेका गतिविधि नजिकबाट नियाली रहेको छ’ अध्यक्ष ओलीलाई भन्नुभयो । एमाले प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार अध्यक्ष ओलीले सरकारबाट आजका दिनसम्म पनि निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गर्ने वातावरण बनेको छैन । 

अध्यक्ष ओलीले २०७२ को भूकम्पपछि एमालेले पुनःनिर्माणको नेतृत्व गरेको स्मरण गराउँदै सुदृढ र तल्लो निकायसम्म संगठन भएकाले भदौको विध्वंसपछिको निर्माण पनि एमालेले गर्ने बताउनुभयो । ‘नेकपा एमाले सुदृढ संगठन, व्यापक जनमत र सर्वाधिक लोकप्रिय पार्टीको रुपमा स्थापित रहेको उहाँले बताउनुभयो ।