• १६ माघ २०८२, शुक्रबार

पपुलिजमले मुलुकलाई निकास दिंदैनः नेता ज्ञवाली

blog

नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ।

गोरखापत्र अनलाइन

बुटवल, माघ १५ गते । नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले निर्वाचनबाट नायकको खोजी भइरहे पनि कुनै नायक र पपुलिजमको वेभले मुलुकलाई निकास नदिने बताउनुभएको छ । लोकतन्त्रविरुद्ध भइरहेका गतिविधि पनि नियन्त्रण हुनुपर्ने उहाँले बताउनुभयो । 

गुल्मी क्षेत्र नम्बर १ का रूपन्देहीमा बस्ने मतदाता भेटघाट गर्न बिहीबार बुटवल आइपुग्नुभएका ज्ञवालीले पत्रकारसँगको भेटघाटमा अहिले भएको विकासको कामप्रति नकारात्मक धारणा सिर्जना गर्दै सपना बेच्ने र नायक खोज्ने भाष्य निर्माण भइरहेको बताउनुभयो।

‘समाजमा नायक खोज्ने भाष्य सिर्जना गरिएको छ, त्यसले मुलुकलाई निकास दिँदैन्’ उहाँले भन्नुभयो,  ‘गलत भाष्य निर्माण गरेर चुनाव अल्गोरिदमको खेल भइरहेको छ, समाजको वस्तुस्थिति एकातिर रहेको र सामाजिक सञ्जालमा हावा प्रचार भइरहेको छ । पपुलिजमको वेभले देशलाई निकास दिँदैन’ उहाँले भन्नुभयो । 

मुलुकलाई प्रयोगशाला बनाउने खेल भित्रभित्रै भइरहेको भन्दै उहाँले २०८४ को निर्वाचन २०८२ मा सारेर केपी ओलीको स्थानमा अर्को प्रधानमन्त्री बनाएर छिनभरमा नयाँ नेपाल निर्माण नहुने तर्क गर्नुभयो ।  ‘नेपाललाई प्रयोगशाला बनाउने खेल निरन्तर जारी छ’ उहाँले भन्नुभयो,  ‘कहिले माओवादीको नाममा, कहिले पहिचानका नाममा र कहिले नयाँ पुस्ताको नाममा खेल खेल्ने काम भइरहेको छ।’ यस्ता प्रयोगशाला बनाउन खेल अबको निर्वाचनबाट अन्त्य हुनुपर्ने उहाँको भनाइ छ ।

नेता ज्ञवालीले निर्वाचनका लागि सरकारले शान्ति सुरक्षाको विश्वसनीय वातावरण बनाउन नसकेको बताउनुभयो । ‘फरार कैदीबन्दी र लुटिएका ७ सय आधुनिक हतियार अझै बाहिरै छन्’ उहाँले भन्नुभयो,  ‘फरार कैदीबन्दी र आधुनिक हतियारको प्रयोग पार्टीबिरुद्धमा प्रयोग नहुने विश्वसनीय वातावरण अझै बनेको छैन् ।’ हिमाली क्षेत्रमा निर्वाचनका लागि मौसमको प्रतिकुलता रहेको उहाँले बताउनुभयो । 

पूर्वमन्त्रीसमेत रहेका नेता ज्ञवालीले संसद् पुनःस्थापनाको मुद्दामा सर्वोच्चले फैसला दिन ढिलाइ गर्न नहुने बताउनुभयो ।  ‘संवैधानिक र कानुनी हिसाबले संसद् विघटन गलत छ’ उहाँले भन्नुभयो, ‘बहुमत सांसदले संसद् पुनःस्थापना भनेको अवस्था छ । यो मुद्दामा छिटो फैसला हुन आवश्यक छ । यस्तो संवैधानिक मुद्दामा निर्क्यौल गर्न ढिलाई गर्न हुँदैन ।’