गोविन्द शर्मा
बाँके, माघ १५ गते । दुई दिनसम्म परेको पानीका कारण बाँकेमा लाखौं ईटामा क्षति पुगेको छ । ईटा ब्यवसायी संघ बाँकेका अनुसार जिल्लामा करिब ७० ईटा उद्योग सञ्चालनमा रहेकोमा सबै उद्योगमा तयारी अवस्थामा रहेको काँचो ईटा बर्षाले क्षति गरेको हो ।
ईटा ब्यवसायी संघ लुम्बिनीका उपाध्यक्ष दिपक अधिकारीले मंगलबार र बुधबारको बर्षाका कारण बाँकेमा मात्र करिब १० करोड रुपियाँ बरावरको नोक्सानी भएको जानकारी दिनुभयो ।
एउटा भट्टामा एक लाखदेखि १० लाखसम्म तयार पारेर सुकाउन राखिएको काँचो ईटामा क्षति पुगेको अधिकारीको भनाइ छ । अधिकारीले भन्नुभयो, ‘बेमौसमी बर्षातले ब्यवसायीको ठुलो नोक्सानी भएको छ, यसबाट भविष्यमा ईटाको अभाव हुने देखिन्छ ।’’
ब्यवसायीहरुले बाँकेमा मात्र दुई करोड बढी ईटा उद्योगमा क्षति पुगेको दाबी गरेका छन् । पर्यावरणीय दृष्टिले माघ १ गतेपछि मात्र ईटाभट्टा सञ्चालन हुने भएकाले अहिले ईटा पकाउन तयारी अवस्थामा रहेको समयमा बर्षा भएकाले थप क्षति भएको ब्यवसायीले जनाएका छन् ।