गोरखापत्र अनलाइन
सुनसरी, माघ १४ गते। नेकपा (एमाले) बाट प्रतिनिधिसभा निर्वाचनमा सुनसरी –३ का उम्मेदवार तथा पूर्वमन्त्री भगवती चौधरीले जनताको हितका लागि अझ जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले सुनसरी –३ का गाउँ–टोलदेखि बस्ती–बस्तीमा जनताको साथमा रहेर विकास र समृद्धिको अभियानलाई अगाडि बढाउने उहाँको प्रतिवद्धता छ । उम्मेदवार चौधरीले हरेक दिन जनताको सेवामा समर्पित हुने आफ्नो सङ्कल्प झन् बलियो बन्दैगएको उल्लेख गर्नुभयो । ‘हरेक बिहानको सूर्योदयसँगै सुनसरी –३ का जनताको हितका लागि अझ जिम्मेवार भएर काम गर्ने मेरो इच्छाशक्ति थप बलियो बन्दै जान्छ’ उहाँले भन्नुभयो ।
चौधरीले आफू सधैँ जनताकै साथमा रहने स्पष्ट पार्नुभयो । ‘म सधैँ तपाईँहरूकै साथमा छु, हरेक समय, हरेक परिस्थितिमा’ उहाँले भन्नुभयो । उहाँले निर्वाचन केवल मत माग्ने अभियान मात्र नभई जनताको दुःख–सुखमा सहभागी हुने जिम्मेवारी भएको बताउनुभयो । ‘सुनसरी –३ का गाउँ–टोल, बस्ती–बस्तीमा म सधैँ जनताको साथमा छु, जनताकै दुःख–सुखमा छु’ उहाँको भनाइ छ ।
उम्मेदवार चौधरीले सुनसरी –३ मा युवालाई आधुनिक प्रविधिसँग जोड्दै रोजगारी र स्वरोजगारको अवसर सिर्जना गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘आधुनिक प्रविधि, डिजिटल सीप र नवप्रवर्तनमार्फत युवालाई घरमै बसेर स्वरोजगार बन्ने अवसर सुनिश्चित गरिनेछ’ उहाँले बताउनुभयो । उहाँले सुनसरी –३ को विकास र समृद्धिका लागि निरन्तर लागिरहने उल्लेख गर्दै जनताको आशीर्वादले आफूलाई थप प्रेरणा दिएको बताउनुभयो ।
चौधरीले विकासको यात्रामा इमानदारी र निरन्तरतामा जोड दिनुभयो । ‘सुनसरी –३ को विकास र समृद्धिका लागि इमानदारी, प्रतिबद्धता र निरन्तरताका साथ म लागिरहन्छु’ उहाँले भन्नुभयो। युवाको भावना बुझ्दै उहाँले भ्रष्टाचारविरुद्ध कठोर अडान लिएको बताउनुभयो । ‘युवा चाहन्छन् कि भ्रष्टाचार नहोस्, युवा चाहन्छन्( विकास होस्’ उहाँले भन्नुभयो ।
उहाँले आफ्नो स्पष्ट प्रतिबद्धता प्रस्तुत गर्दै भन्नुभयो, ‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न।’ उम्मेदवार चौधरीले जनताको सेवामा सधैँ समर्पित रहने र सुनसरी –३ लाई विकास र समृद्धितर्फ डोर्याउने विश्वास दिलाउनुभएको छ।