• ५ माघ २०८२, सोमबार

अग्निपीडित परिवारलाई राहत सामग्री वितरण

blog

अग्निपीडित परिवारलाई राहत सामग्री । तस्बिर : विनय कर्ण

विनय कर्ण

कल्याणपुर (सप्तरी), माघ ५ गते । धर्मी हल्फा महिला विकास क्लब सप्तरीले तिरहुत गाउँपालिका-१, धनपुरी टोलका अग्निपीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ ।

माघ १ गते भएको आगलागीमा स्थानीय जोगिन्द्र यादवको घर जलेर नष्ट हुँदा करिब ६ लाख रुपियाँ बराबरको धन माल क्षति भएको थियो । आगलागीपछि सर्वस्व गुमाएर बिचल्लीमा परेका यादव परिवारलाई सोमबार क्लबले त्रिपाल, झुल, ब्ल्याङ्केट, थाल, गिलास, कराही, डेगची, छलनी, बाल्टी, मग, म्याट्रेसलगायत आवश्यक घरायसी सामग्री सहयोग स्वरूप प्रदान गरेको हो ।

क्लबका अध्यक्ष तथा समाजसेवी इन्जिनियर सूर्यनारायण यादवले पीडित परिवारलाई हस्तान्तरण राहत सामग्री हस्तान्तरण गर्नु भयो । सो अवसरमा अध्यक्ष यादवले विपद्को समयमा मानवीय सहयोग नै ठुलो सहारा हुने बताउँदै स्थानीय तह, सङ्घसंस्था र सबै सरोकारवालालाई पीडितको सहयोगमा अघि बढ्न आग्रह गर्नु भयो।

कार्यक्रममा अस्थायी प्रहरी पोस्ट त्रिकोलका प्रहरी सहायक निरीक्षक गयाप्रसाद चौधरी, सशस्त्र प्रहरी सहायक निरीक्षक अजय यादव सहित स्थानीय भद्रभलाद्मी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।