• ५ माघ २०८२, सोमबार

व्यवस्थित पर्यटक सूचना केन्द्र सञ्चालनमा

blog

भैरहवा समाचारदाता

भैरहवा, माघ ५ गते । बुद्ध जन्मस्थल लुम्बिनीमा लामो समयपछि व्यवस्थित पर्यटक सूचना केन्द्र सञ्चालनमा आएको छ । लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई एकै स्थानबाट आधिकारिक जानकारी, मार्गदर्शन र सेवा उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि सूचना केन्द्र सञ्चालनमा ल्याइएको हो ।

पर्यटकको आवतजावत धेरै हुने क्षेत्रलाई केन्द्रमा राखेर निर्माण गरिएको यस केन्द्रले लुम्बिनी भ्रमणलाई सहज, व्यवस्थित र जानकारीमूलक बनाउने अपेक्षा गरिएको छ ।

सूचना केन्द्र सञ्चालनको जिम्मेवारी लुम्बिनी होटेल सङ्घ नेपाललाई दिइएको छ भने भवनको मर्मतसम्भार र समग्र रेखदेख लुम्बिनी सांस्कृतिक नगरपालिकाले गर्ने गरी समझदारी भएको छ । तारबारसहित व्यवस्थित भवन निर्माण गरी सञ्चालनमा ल्याइएको सूचना केन्द्रमा आधुनिक सूचना प्रविधिको समेत व्यवस्था गरिएको छ ।

लुम्बिनी होटेल सङ्घका अध्यक्ष लीलामणि शर्माले विश्वकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य भए पनि साना तर अत्यावश्यक व्यवस्थापन गर्न नसक्दा लुम्बिनी पछाडि परेको बताउनुभयो । 

“अत्याधुनिक सूचना केन्द्र सञ्चालनमा आएकाले पर्यटकले चाहिने सबै जानकारी एकै ठाउँबाट पाउने छन्,” उहाँले भन्नुभयो । केन्द्रमा अङ्ग्रेजी, हिन्दी, नेपाली तथा स्थानीय भाषा बुझ्ने सूचना अधिकृत रहने उहाँले जानकारी दिनुभयो ।

होटेल सङ्घका वरिष्ठ सल्लाहकार हेमबहादुर विष्टले सूचना केन्द्र स्थापना गर्ने तिनबर्से प्रयास बल्ल सफल भएको बताउनुभयो । नगरपालिकाले स्थान उपलब्ध गराएपछि गत वर्षदेखि सञ्चालनको तयारी भए पनि आवश्यक तालिम र व्यवस्थापन नपुग्दा ढिलाइ भएको उहाँको भनाइ छ । 

लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले विगत सम्झिँदै २२ वर्षसम्म आँपको रुखमुनि टेबुल राखेर सूचना दिने अवस्थाबाट आजको व्यवस्थित केन्द्रसम्म आइपुगेको बताउनुभयो । “सरकारी र निजी क्षेत्रको सहकार्यले सम्भव भएको यो केन्द्रले पर्यटकलाई प्रत्यक्ष लाभ पु¥याउने छ,” उहाँले भन्नुभयो । आवश्यक संरचना र सेवाको अभावमा लुम्बिनीले अपेक्षित पर्यटन प्रवर्र्धन गर्न नसकेको भन्दै उहाँले सबै सरोकारवालालाई सचेत बन्न आग्रह गर्नुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले ढिलै भए पनि सकारात्मक कामको सुरुवात भएकोमा सन्तोष व्यक्त गर्नुभयो । 

नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले गुनासो मात्र गरेर नपुग्ने भन्दै निजी क्षेत्रलाई पर्यटन प्रवर्धनमा सव्रिmय हुन आग्रह गर्नुभयो ।

सूचना केन्द्र उद्घाटन कार्यव्रmममा बोल्दै भिक्षु सागर धम्मले बुद्ध जन्मस्थलमै बसेर पनि स्थानीय बासिन्दा गरिबीको रेखामुनि जीवन बिताउन बाध्य हुनु दुःखद भएको बताउनुभयो । लुम्बिनी विकास कोष र नगरपालिकाले मिलेर स्थानीयको आर्थिक अवस्था उकास्ने कार्यव्रmम ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।