काठमाडौं, पुस १८ गते । धार्मिक महत्व बोकेको सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को महास्नानपछि सुरु गरिएको साजसज्जा तथा रङ्गराेगनको कार्य सम्पन्न गरिँदैछ । प्रत्येक वर्ष चन्द्रमासको तेस्रो महिनामा अर्थात् पुसको सप्तमीका दिन शोभाभगवतीस्थित भचाखुसीबाट जल ल्याई अष्टमीमा आर्यावलोकितेश्वरलाई महास्नान गराइन्छ ।
महास्नानपश्चात् नवमीबाट मूर्तिलाई रङ्गरोगन तथा साजसज्जा गर्ने गरिन्छ ।
नवमीमा मूर्तिलाई मन्दिर परिसरको दायाँ भागमा राखेर रङ्गरोगन गरिन्छ भने दशमीका दिन मन्दिरको अर्को भागमा राखेर मूर्तिलाई आकृति दिने काम हुने सेतो मच्छिन्द्रनाथ मन्दिरका पुजारीले जानकारी दिनुभयो । मन्दिरका मूल पुजारीबाट आज मूर्तिको रङ्गरोगन अन्तिम चरणमा गरिरहनुभएको छ त्यसको रेखदेख र निर्देशन भने नरेन्द्र चित्रकारले गरिरहनुभएको छ ।
चित्रकारका अनुसार महास्नानपछि मूर्तिमा असर पर्ने र मूर्तिमा कोरिएका आकृतिको रङ बगेर जाने भएकाले पुनः सजाउने गरिन्छ । विशेष गरेर ६ प्रकारका रङ्ग मूर्तिलाई सजाउन प्रयोग गरिन्छ । "रङ्गरोगन गर्ने कार्य पूर्णिमाको दिनमा सकेर भगवानको मूर्तिलाई पुरानो आकृतिमा ल्याएर मन्दिरमा पुनःस्थापना गरिन्छ’, उहाँले भन्नुभयाे, "धार्मिक मान्यता अनुसार आउँदो पूर्णिमासम्म रङ्गरोगनका सम्पूर्ण कार्य सम्पन्न भएर सोही दिन दशकर्म पूजा गरिन्छ । दशकर्म गरेपछि मूर्तिलाई पुनः आसनमा राखिन्छ ।"
नेवार समुदायमा एक पुरुष र नारीलाई जीवन अवधिमा गरिने सबै कर्म दशकर्ममा गर्ने गरिन्छ । मूर्तिमा रङ्गरोगन गर्न मूल पूजारीले गर्ने मान्यता अनुसार चित्रकारले दिएको निर्देशनमा रङ्ग भरिन्छ । चित्रकारका अनुसार आर्यावलोकितेश्वरको मुख्य मूर्ति रक्तचन्दनबाट बनेको छ । त्यसलाई बचाउनका लागि श्रीखण्ड लिपेर राखेको छ भने सबैभन्दा बाहिरी भागमा ढलोट गरेर मूर्तिको सुरक्षा गरिएको छ ।


















