गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १५ गते । नागार्जुन नगरपालिकास्थित रामकोटको अर्को कृषि फार्ममा उत्पादित रायो सागमा पनि उच्च विषादी फेला परेको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको मोबाइल भ्यान खाद्य प्रयोगशालासहितको टोलीले काठमाडौँको नागार्जुन नगरपालिकास्थित रामकोटका कृषि फार्मको स्थलगत अनुगमन गरी रायोको साग र गोलभेँडामाको परीक्षण गर्दा उच्च विषादी भेटिएको हो ।
गत साता रामकोटका किसानले उत्पादन गरेर बिक्रीका लागि कालीमाटी ल्याइएको रायोको साग अत्यधिक विषादी भेटिएको समाचार बाहिरिएपछि विभागको टोली मोबाइल प्रयोगशालासहित सो क्षेत्रका कृषि फार्ममा पुगेर स्थलगत परीक्षण गरेको थियो ।
विभागको टोलीले रामकोट–७ मा रहेको सक्रिय कृषि तथा फार्ममा बिक्रीका लागि लैजान लागेको गोलभेँडा र रायोको सागको परीक्षण गर्दा अगार्नोफस्फेट नामक विषादीको मात्रा ९९.५२९ प्रतिशत भेटिएको जनाएको छ ।
विषादीको रोकावट दर ३५ प्रतिशतसम्म देखिए उपभोग गर्न मिल्छ । यसै गरी ३५ देखि ४५ प्रतिशत विषादीको अवशेष देखिए केही दिनलाई राखेर उपभोग गर्न मिल्छ तर ४५ प्रतिशतभन्दा बढी विषादीको अवशेष देखियो भने खान नहुने अर्थात् नष्ट गर्नु पर्छ ।
विभागका अनुसार टोलीले विभिन्न १४ वटा कृषि फार्मको अनुगमन गरेर ती सबै फार्मका तरकारीको नमुनामा अर्गानोफस्फेट र कार्बामेन्टको नामक विषादी भए वा नभएको परीक्षण गरेको थियो ।