कविराज घिमिरे
हिले, पुस १५ गते । सानो बोट, बोटैभरि पातभन्दा बढी सुन्तले रङमा बयर झैँ र बयरकै साइजमा लटरम्म फल फलेको छ । राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारी पात्ले धनकुटापरिसरमा देखिएको यस फललाई मुन्तलाको नामले चिन्ने गरिएको छ ।
यो फल नेपाल भित्रिएको आधिकारिक प्रमाण नभए पनि राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारी पात्लेमा भने जिन बैङ्क स्थापनापछि अनुसन्धानका क्रममा २०६० सालतिर भित्रिएको हो ।
पोषणयुक्त र आकर्षक फलका रूपमा चिनिने मुन्तला नेपालमा घरायसी तथा सोखिन रूपमा मात्र सीमित छ । सजिलै खेती गर्न सकिने तथा उपभोग गर्न सहज हुँदाहुँदै पनि यसको व्यावसायिक खेती भने अहिलेसम्म सुरु हुन सकेको छैन ।
रुटेसी परिवारमा पर्ने मुन्तला कलमी प्रविधिबाट तयार गरिएको बिरुवाले एक/दुई वर्षमै फल दिन थाल्ने राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्लेका प्राविधिक अधिकृत अमृत कटुवाल बताउनुहुन्छ । राम्रोसँग हुर्किएको पाँच–आठ वर्ष उमेरको एक बोटबाट वार्षिक आठ सयदेखि एक हजार दानासम्म फल उत्पादन हुने उहाँको भनाइ छ । करिब आठ सयदेखि एक हजार पाँच सय मिटर उचाइ भएका स्थान यसको खेतीका लागि उपयुक्त मानिन्छ । मुन्तलामा उच्च मात्रामा फाइबर, भिटामिन ‘सी’, भिटामिन ‘ए’, माङ्गनिज, चिनी र साइट्रिक एसिड पाइन्छ ।
चीन, जापान, युरोप र अमेरिकातिर प्रशस्त पाइने यो प्रजाति सयौँ वर्षपहिले चीनबाट अस्तित्वमा आएको मानिन्छ । काठमाडौँका ठुला मार्केटमा महँगो मूल्यमा बिक्री हुने यो फल नेपालमा भने अहिलेसम्म ठुला घरका छतको गमलामा मात्र सीमित छ । नेपालमा यसको प्रशस्त व्यावसायिक सम्भावना रहेको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्लेका कार्यालय प्रमुख मुख्य वैज्ञानिक वसन्त चालिसे बताउनुहुन्छ । खेतबारीमा मात्र नभई गमला, प्लास्टिक बोरा वा बाँस तथा काठका भाँडामा समेत यसको उत्पादन सम्भव भएको उहाँको भनाइ छ ।