• १५ पुस २०८२, मङ्गलबार

सङक्रमणकालीन न्याय : आयोगबाट काम नभएको गुनासो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १५ गते । सङ्क्रमणकालीन न्याय व्यवस्थापनका लागि गठन भएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट काम हुन नसकिरहेको सरोकारवालाको गुनासो छ । 

त्रिभुवन विश्वविद्यालय द्वन्द्व, शान्ति र विकास अध्ययन केन्द्रीय विभागद्वारा आयोजित शान्ति र विकास फेयर, २०२५ को उद्घाटन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मेलमिलाप र छानबिन आयोगबाट काम हुन नसकेको बताउनुभयो । विकासपछि दिगो शान्ति अनि शान्तिबिना दिगो विकास हुन नसक्ने चर्चा गर्दै उहाँले भन्नुभयो, “दुई वटा आयोगले पूर्ण रूपमा काम गर्न पाएका छैनन् । आयोगले काम गर्न पाउनु प¥यो ।” 

संविधान लिकबाहिर गएको वर्तमान राजनीतिक अवस्थामा निर्वाचन भएपछि लिकमा आउने बताउँदै अध्यक्ष मगरले भन्नुभयो, “चुनावपछि संविधान लिकमा आउँछ । संविधान लिकमा आएपछि शान्ति कायम हुन सक्छ ।” 

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका नगरप्रमुख कृष्णमान डङ्गोलले दिगो विकासका लागि स्थायी शान्ति अपरिहार्य रहेको बताउनुभयो । द्वन्द्वपछिको शान्तिले दिगो विकास हुने चर्चा गर्दै उहाँले भन्नुभयो, “२०६२/६३ को द्वन्द्वपछि विकास भयो तर भ्रष्टाचार मौलाएका कारण जेन्जी आन्दोलन भयो । अब यसपछिका शान्ति दिगो हुनु पर्छ ।”

मानविकी तथा सामाजिकशास्त्र सङ्कायका निमित्त डिन प्राडा वामदेव अधिकारीले शान्तिपछि विकास नभए द्वन्द्व बढ्ने बताउनुभयो । १० बर्से माओवादी जनयुद्धको द्वन्द्व नेपालको मौलिकता अनुसार नै गरिएको तर अझै पनि त्यसले पूर्णता नपाएको उहाँले चर्चा गर्नुभयो । मानव विकास भएन भने द्वन्द्वको व्यवस्थापन पनि जटिल हुने उहाँको भनाइ छ । विभागले राष्ट्रिय तथा विश्व शान्तिमा योगदान पु¥याएका सङ्घ संस्था र निकायको गतिविधि एवं वृत्तचित्र प्रदर्शनमा राखिएको छ । मानव अधिकार र न्यायका लागि भएका पहलकदमीको पनि प्रदर्शनी छ । विभागको आफ्नै परिसरमा राखिएको प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुने छ ।