• ८ असार २०८१, शनिबार

जहाज थप्ने तयारीमा नेपाल एयरलाइन्स

blog

काठमाडौँ, असार २७ गते ।  नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडान प्रभावकारी बनाउन पाँचवटा नयाँ जहाज किन्ने तयारी गरेको छ । चीनसँग खरिद गरेका छवटा जहाज ग्राउन्डेड भएको दुई वर्षपछि निगमले यस्तो योजना बनाएको हो । 

अधिकांश समय ग्राउन्डेड भएका चिनियाँ जहाजसहित न्यारोबडी र वाइडबडी जहाज किन्दा लिएको ऋणको नियमित किस्तासमेत तिर्न नसकेर करिब ४८ अर्ब रुपियाँ ऋण बोक्दै आएको निगमले थप पाँचवटा जहाज किन्न लबिङ गरिरहेको छ । 

कोरोना महामारीयताको समय कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषसंंँग लिएको ऋणको साँवा र ब्याजको दायित्वसमेत नतिरेको निगमले आफ्नो व्यावसायिक योजनाअनुसार आन्तरिकतर्फ थप पाँचवटा जहाज थप्ने तयारी गरिरहेको हो ।

निगमले स्टोल र ट्रङ्क रुटमा उडान गर्न सन् २०२२ भित्रै थप पाँचवटा जहाज खरिदको तयारी अगाडि बढाएको छ । जहाज खरिद प्रक्रिया अगाडि बढाउन निगमले एक समिति गठन गरेको छ । उक्त समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयसंँग छलफलपछि अबको १५ दिनभित्र एक निष्कर्षमा पुग्ने निगम स्रोतले जनाएको छ ।

आन्तरिक उडानमा प्रतिस्पर्धा गर्न भन्दै २०७१, २०७३ र २०७४ मा एभिएसन इन्डस्ट्रिज कर्पोरेसन चाइनासँग पौने चार अर्ब रुपियाँमा खरिद गरिएका चारवटै चिनियाँ विमान २०७७ साउन १५ गतेदेखि ग्राउन्डेड अवस्थामा छन् । ग्राउन्डेड भएयता ती विमानको बीमा तथा अत्यावश्यक मर्मत, पार्किङ खर्च हुँदै आएको छ ।

यसअघि जहाज उडाउन सञ्चालन, वाणिज्य र इन्जिनियरिङको उचित व्यवस्थापनमा चुकेको निगमले निजी क्षेत्रका विमान कम्पनीको तुलनामा सस्तो भाडादरमा उडान गर्दासमेत नाफा कमाउन नसकेको अवस्थामा नयाँ जहाज किनेर प्रतिस्पर्धामा उत्रिने योजना अगाडि सारेको छ ।सुरुवाती छलफलअनुसार खरिद गर्न लागेका जहाजमा दुईवटा ७२ सिट क्षमताका एटीआर जहाज र तीनवटा साना (१८ सिट क्षमताका) जहाज किन्ने तयारी भइरहेको छ । 

हाल निगमका दुईवटा वाइडबडी, दुईवटा न्यारोबडी र दुईवटा ट्विनअटर विमान सञ्चालनमा रहेका छन् । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आन्तरिक उडानमा अन्य निजी हवाई कम्पनीसंँग प्रतिस्पर्धाका लागि निगमसंँग जहाजको सङ्ख्या कम रहेको र नयाँ जहाज खरिदमार्फत निगमका आम्दानी बढाउन सञ्चालक समितिले स्वीकृत गरेको व्यावसायिक योजनाअनुसार जहाज खरिदबारे सुरुवाती छलफल भइरहेको हो ।

उहाँले भन्नुभयो, “आन्तरिकतर्फ उडानमा बढ्दो प्रतिस्पर्धालाई हेरेर निगमको १० वर्षे व्यावसायिक योजनाअनुसार सम्भाव्यता अध्ययनका आधारमा नयाँ जहाज खरिदबारे छलफल चले पनि कुन मोडलको जहाज खरिद गर्ने, कहाँबाट खरिद गर्ने, लागत कति रहने, स्रोत व्यवस्थापनबारे कुनै  निर्णय हुनसकेको छैन ।”

लुक्ला, पोखरा, जोमसोम र भैरहवामा उडान विस्तार गर्न उक्त जहाज खरिद गर्ने निगमको तयारी रहेको छ । जहाज खरिदका लागि अहिले स्रोत व्यवस्थापनबारे प्रस्ट नभए पनि खरिद गर्न लागेका जहाजको लागत छ अर्ब ५० करोड रुपियाँ अनुमान गरिएको छ ।

निगमले अगाडि सारेको १० वर्षे योजनामा पनि सन् २०२५ सम्म १५ वटा जहाज खरिद गर्ने योजना रहेको छ ।सो योजनाअनुसार २०२३ मा अन्तर्राष्ट्रियतर्फ दुईवटा न्यारोबडी, सन् २०२४ मा एउटा वाइडबडी र दुईवटा न्यारोबडी तथा २०२५ मा एउटा वाइडबडी थप्नेबारे उल्लेख छ ।

अन्तर्राष्ट्रियतर्फ जहाज थपेर दक्षिण कोरियाको सिओल, चीनको ग्वान्झाउ र साङ्घाई, श्रीलङ्काको कोलम्बो, भारतको अहमदाबाद, इन्डोनेसिया, जर्मनीको फ्र्याङ्कफर्ट र अस्ट्रेलियामा उडान भर्ने निगमको योजना रहेको छ । हाल निगमको दुईवटा वाइडबडी जहाजले भारतको दिल्ली, मुम्बई र बैङ्गलोर, कतारको दोहा, हङकङ, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैङ्कक, जापानको नारिता र साउदी अरेबियाको रियाद नियमित उडान गर्दै आएको छ ।

Author

मीनराज भण्डारी