• २९ मङ्सिर २०८२, सोमबार

दुई वटा हात्ती कतार पठाइँदै

blog

कतार पठाउन लागिएका हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा रहेका खगेन्द्रप्रसाद र रुद्रकली ।तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन, मङ्सिर २९ गते  । चितवन राष्ट्रिय निकुञ्जका दुई वटा हात्ती आगामी पुस २ गते कतार पठाउने तयारी गरिएको छ । सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मेहुर्केका रुद्रकली र खगेन्द्रप्रसादलाई कतार पठाउन लागिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले हात्ती कतार लैजाने तयारी पूरा भएको जानकारी दिनुभयो । नेपाल सरकारले उपहारस्वरूप कतार सरकारलाई पठाउने भनी निर्णय गरिसकेकाले लैजाने तयारी भएको उहाँले बताउनुभयो । हात्ती लैजाने तयारीका विषयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सबै तयारी गरेर सौराहामा बिदाइ कार्यव्रmमसमेत आयोजना गरेको छ ।  

सूचना अधिकारी थापामगरले विशेष बिदाइ कार्यव्रmम गरेर हात्तीलाई पठाउने तयारी भएको जानकारी दिनुभयो । कतार जाने हात्तीसँग एक जना पशु चिकित्सक र दुई जना माहुते पनि जाने छन् । कतार पुगेपछि त्यहाँको वातावरणमा सहज घुलमिल गराउन र अन्य कामका लागि तीन जनालाई कतार पठाउन लागिएको हो । निकुञ्जका अनुसार सात वर्षको रुद्रकली र छ वर्षको खगेन्द्रप्रसादलाई भैरहवा विमानस्थलसम्म लैजान ट्रकको व्यवस्था गरिएको छ । हात्ती बस्ने अलग्गै स्थान निर्माण गरिएको सूचना अधिकारी थापामगरले जानकारी दिनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा. हरिभद्र आचार्यले मङ्सिरभित्र कतार पठाउने तयारी भएकोमा केही ढिला भएर पुस २ गते लैजाने निश्चित भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कागजी प्रव्रिmया सबै पूरा भएर खोर निर्माण पनि भइसकेको छ । २९ गते सोमबार सौराहाबाट भैरहवा जाने छन् । एक दिन भैरहवा बसेपछि पुस २ गते विमानबाट कतारतर्फ उडाइने छ ।”उहाँका अनुसार हात्ती लैजाने सम्पूर्ण खर्च कतार सरकारले बेहोर्ने छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट विशेष चार्टर कार्गो विमानमार्फत हात्ती जाने छन् । कतारको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हो । 

नेपालमा भन्दा कतारमा गर्मी धेरै हुने भएकाले त्यहाँ वातावरण अनुकूलन बनाएर राख्ने व्यवस्था कतार सरकारले गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा. आचार्यले बताउनुभयो । खगेन्द्र र रुद्रको बाबु जङ्गली भाले हात्ती रोनाल्डो भएको हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपूरण चौधरीले जानकारी दिनुभयो । खगेन्द्रकी आमा कोशीकली हुन् भने रुद्रकलीको आमा पूजाकली हुन् । हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्दे जस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्दछन् ।

यसअगाडि नेपालले चीन सरकारलाई उपहारस्वरूप दिएका दुई गैँडामध्ये एउटाको मृत्यु भएको छ । मृत्यु भएपछि अर्को एउटा गैँडा नेपालले पुनः पठाउनुपर्ने भएको विभागले जानकारी दिएको छ । अर्को पठाउने विषयमा सरकारले अनुमति दिएपछि मात्र पठाउने तयारी गरिने आचार्यले जानकारी दिनुभयो ।  विभिन्न मित्रराष्ट्रलाई एकसिङे गैँडा, हात्तीलगायतका वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबिचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महìव अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन वन्यजन्तु उपहार दिइने गरिएको छ । विसं २०४४ मा भारतबाट १६, म्यान्मार दुई र थाइल्यान्डबाट दुई गरी २० वटा हात्तीबाट स्थापना गरिएको हात्ती प्रजनन केन्द्रले अहिलेसम्म ६८ वटा हात्तीलाई जन्म दिइसकेको छ । यहाँ ६१ वटालाई तालिम दिइएको केन्द्रले जनाएको छ ।