कविराज घिमिरे
हिले, मङ्सिर २९ गते । पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्रको आधारको रूपमा रहेको वसन्तपुर–गुफा सडक खण्ड शिलान्यास भएको तीन दशक भएको छ । यो अवधिमा ट्रयाक त खोलीएको छ । तर सडक जीर्ण हुँदा यो क्षेत्रमा यात्रा गर्ने यात्रु तथा पर्यटक जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् । कोशी राजमार्गको बसन्तपुर मुढे खण्ड निर्माण भएसँगै करिब २०५० साल तिरै शिलान्यास भएको यो सडक निक्कै जोखिमपूर्ण अवस्थामा रहेको छ ।
यो सडकको अधिकांश स्थान खाल्डाखुल्डीले भरिएका छन् । हिउँदमा धुलाम्मे र बर्सातमा हिलाम्मे यो सडक पार गर्नै कठोर परीक्षा झैँ हुन्छ । सवारी सञ्चालनमा समेत निक्कै असहज छ । ठाउँ–ठाउँमा गरिएको सोलिङ पनि गुणस्तरहीन भएकाले सडकको अवस्था सुधारिनुको साटो झन् बिग्रदै गएको छ । सडकको नाजुक अवस्थाको कारण पर्यटकलाई गन्तव्यसम्म पुग्नै कठिन हुन्छ । सडककै कारण गन्तव्यमा नपुगी फर्कनु परेको गुनासो सुनसरी इटहरीको एलिसा कटुवाल बताउनु हुन्छ ।
तेह्रथुमको वसन्तपुरदेखि गुफा पोखरी २८ किलोमिटरको दूरीमा छ । गुफा पोखरी पूर्वका धेरै पर्यटकको रोजाइमा पर्छ तर सडकका कारण धेरै पर्यटक गुफासम्म पुग्ने अवस्था छैन । गुफा पोखरी जस्तै सुविधा सम्पन्न सडक नहुँदा तिनजुरे मिल्के क्षेत्रका पाँचपोखरी, चौकी, मङ्गलबारे, गुफा लगायतका पर्यटकीय बजार सुनसान छन् । गुराँस फुल्ने सिजन हिउँ पर्ने सिजन र दसैँ तिहार आसपासको समयमा यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । तर सडकको अस्थाका कारण पर्यटक आदि बाटो बाटै फर्कने गरेको मङ्गलबारेका स्थानीय मुरारी घिमिरे बताउनु हुन्छ ।
त्यसो त यो सडक गुफा पोखरी हुँदै साँगु र फुङलिङसम्म पुग्छ । सवारी चालकहरूका लागि यो मार्ग अझ चुनौती पूर्ण बनेको छ । सडकको खराब अवस्थाका कारण गाडीका पार्ट–पुर्जा पटक–पटक बिग्रिने गरेका छन् । मर्मत खर्चले आम्दानीको ठेगानै नभएको यातायात व्यवसायीको गुनासो छ । सडक जोखिम भएकाले दुर्घटनाको पनि उत्तिकै डर छ । वर्षायाममा त यो सडक ठप्प हुन्छ । पानी पर्ने वित्तिकै गाडी थन्काउनुपर्ने अवस्था रहेको दैनिक रूपमा वसन्तपुरदेखि ताप्लेजुङसम्म गाडी चलाउने सवारी चालक विनोद बस्नेतले बताउनुहुन्छ ।
सुरुमा वसन्तपुर गुफा सडक आयोजना, त्यसपछि तत्कालीन तेह्रथुम जिल्ला विकास समिति र हाल सडक डिभिजन कार्यालय धनकुटा र सङ्खुवासभाले यो सडक हेर्दै आएको छ ।
तेह्रथुम र ताप्लेजुङलाई जोड्ने यो मार्ग केवल आवागमनको साधन मात्र होइन, पर्यटन र व्यापारिक आवत–जावतको मेरुदण्ड हो । सडक स्तरोन्नतिका लागि पहल गर्दा पनि हुन नसकेको जिल्ला समन्वय समिति तेह्रथुमका उपप्रमुख श्री कार्कीको भनाइ छ ।
यो क्षेत्रको पर्यटकीय विकासका लागि सडक तत्काल स्तरोन्नति गर्न स्थानीयको माग छ । सडक स्तरोन्नति भए यो क्षेत्रमा पर्यटकको चहलपहल बढ्ने मात्र नभई सो क्षेत्र हुँदै यात्रा गर्ने सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङवासीलाई समेत यात्रा सहज हुने स्थानीयको भनाइ छ ।