थाइल्यान्ड, मङ्सिर २७ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबिच युद्ध विराममा सहमति भएको घोषणा गरे पनि थाइल्यान्डले कम्बोडिया विरुद्ध सैन्य आक्रमण जारी राख्ने स्पष्ट पारेको छ ।
थाइल्यान्ड र कम्बोडियाबिचको झडप औपनिवेशिक कालमा तय गरिएको करिब आठ सय किलोमिटर लामो सीमा सम्बन्धी विवादका कारण यस महिनादेखि पुनः चर्किएको हो । यस द्वन्द्वका कारण दुवै देशमा गरी करिब पाँच लाख मानिस विस्थापित भएका छन् भने पछिल्लो साता मात्र कम्तीमा २० जनाको मृत्यु भएको छ ।
शनिबार थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलले आफ्नो देशको भूमि र जनताको सुरक्षामा खतरा कायमै रहेसम्म सैन्य कारबाही रोकिने सम्भावना नरहेको बताउनुभयो । बैंककस्थित संयुक्त प्रेस केन्द्रका अनुसार थाइ सेनाले बिहान ५:५० बजे कम्बोडियाली सैन्य लक्ष्य विरुद्ध प्रतिशोधात्मक आक्रमण गरेको थियो ।
कम्बोडियाले थाइ लडाकु विमानले आफ्ना भूभागमा बम खसालेको आरोप लगाएको छ । यसबारे प्रतिक्रिया दिँदै थाइ नौ सेनाका प्रवक्ताले द्वन्द्व क्षेत्रमा हतियार ढुवानी गर्न प्रयोग हुँदै आएका कम्बोडियाका दुई पुल ध्वस्त पारिएको जानकारी दिनुभयो ।
शुक्रबार राष्ट्रपति ट्रम्पले थाइल्यान्डका प्रधानमन्त्री अनुटिन र कम्बोडियाका प्रधानमन्त्री हुन मानेटसँग भएको फोनवार्तापछि दुवै देशले तत्काल गोलीबारी रोक्ने सहमति गरेको दाबी गर्नु भएको थियो । तर दुवै पक्षले युद्धविराम उल्लङ्घनको आरोप एक-अर्कामाथि लगाइरहेका छन् ।
कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले आफ्नो देश शान्तिपूर्ण उपायमार्फत समस्या समाधानमा प्रतिबद्ध रहेको बताउनु भएको छ भने कम्बोडियाका सूचनामन्त्रीले थाइ सेनाले नागरिक पूर्वाधार र सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएका छन् । थाइ वायु सेनाले भने निर्दोष नागरिकलाई क्षति नपुग्ने गरी उच्च सटीक हतियार प्रयोग गरिएको दाबी गरेको छ ।
यसअघि अमेरिका, चीन र आसियान अध्यक्ष मलेसियाको मध्यस्थतामा जुलाईमा युद्ध विराम भएको थियो । तर सीमामा बारुदी सुरुङ विस्फोटमा थाइ सैनिक घाइते भएपछि नोभेम्बरमा उक्त सम्झौता स्थगित गरिएको थियो । सीमावर्ती क्षेत्रबाट विस्थापित एक थाइ नागरिकले शान्ति प्रयासप्रति आशङ्का व्यक्त गर्दै कम्बोडियामाथि अब विश्वास गर्न गाह्रो भएको बताएका छन् । रासस/एएफपी