प्रदीप पन्त
बागलुङ, मङ्सिर २७ गते । नेपाली कम्युनिस्ट पार्टीका नेतृ पम्फा भुसालले संविधान रक्षाका लागि निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल बागलुङ शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री समेत रहनु भएकी भुसालले देश निर्वाचनको पक्षमा जुटेको बताउनु भएको हो ।
आगामी फागुन २१ गते हुने निर्वाचनबाट कोही पनि बाहिर जान नमिल्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “संविधान रक्षाका लागि भए पनि फागुन २१ मा निर्वाचन हुनु पर्छ, निष्पक्ष,स्वतन्त्र र भयरहित निर्वाचन गराउन सरकार जुट्नु पर्छ ।”
देश चलाउने राजनीतिक दल भएकोले निर्वाचनमा भाग लिनुको विकल्प नभएको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा आफ्नो पार्टीबाट पचास प्रतिशत जेन–जी पुस्ता अगाडि आउने बताउनुभयो । उहाँले भन्नुभयो, “२० देखि ४० वर्ष उमेरका युवा समुहलाई अगाडि बढाउन पार्टी पङ्क्ति जुटेको छ ।”
आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै चुनावमा उभिने बताउनु भएको छ । अहिले नेकपाको एकताबाट कम्युनिस्ट आन्दोलनलाई थप मजबुत बनेको उहाँको दाबी छ । १६ घटक मिलेर बनेका नेकपा ठुलो शक्तिको रूपमा अगाडि बढेको भुसालले बताउनु हुन्छ ।