• २७ मङ्सिर २०८२, शनिबार

युरोपेली सङ्घद्वारा रूसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागु

blog

ब्रसेल्स, मङ्सिर २७ गते । युरोपेली सङ्घ (ईयु)ले शुक्रबार रूसी केन्द्रीय बैँकका सम्पत्ति कुनै पनि प्रकारले रूस फर्किन नदिने निर्णय गरेको छ । उक्त कदम युक्रेनमा जारी द्वन्द्वलाई दृष्टिगत गर्दै तत्काल लागु गरिएको हो । सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “सङ्घको अर्थतन्त्रमा पर्ने नकारात्मक असर कम गर्न यो निर्णय तत्काल प्रभावका लागि गरिएको हो ।”

निर्णय अनुसार, रूसी केन्द्रीय बैँकको सम्पत्ति पूर्णरूपमा प्रतिबन्धित गरिएको छ । यसले रूसी बैँकको तर्फबाट वा निर्देशनमा कार्य गर्ने कुनै पनि व्यक्ति, संस्था वा निकायसँग सम्बन्धित लेनदेनलाई पनि समेट छ । युरोपेली परिषद अध्यक्ष एन्टोनियो कोस्टाले सामाजिक सञ्जालमा लेख्नुभयो, “अक्टोबरको परिषद बैठकमा रूसी सम्पत्ति सुरक्षित राख्ने प्रतिबद्धता जनाइएको थियो र शुक्रबारको निर्णयले त्यस प्रतिबद्धता पूरा गरेको हो ।

विज्ञप्तिमा यो कदम अस्थायी भए पनि रूसलाई युक्रेनसँगको युद्धका लागि वित्तीय वा अन्य स्रोत उपलब्ध गराउँदा सङ्घको अर्थतन्त्रमा असर पर्न सक्ने अवस्थामा प्रतिबन्ध जारी रहने उल्लेख छ । यस निर्णय अनुसार करिब दुई लाख दस हजार करोड युरो मूल्यको सम्पत्ति लक हुने छ । यसमा करिब एक लाख नब्बे हजार करोड युरो बेल्जियमस्थित वित्तीय संस्था युरोक्लियरमा सुरक्षित छ ।

सम्पत्ति रूस-युक्रेन द्वन्द्व सुरु भएपछिका युरोपेली सङ्घका प्रतिबन्ध अन्तर्गत सुरक्षित राखिएको हो । यी प्रतिबन्ध हरेक छ महिनामा २७ सदस्य राष्ट्रको सर्वसम्मत अनुमतिसहित नवीकरण गर्नुपर्छ । हङ्गेरी र स्लोभाकियाले युक्रेनको समर्थन बढाउन विरोध गरे पनि शुक्रबारको निर्णयले उनीहरूलाई प्रतिबन्ध नवीकरण अवरुद्ध गर्न नसक्ने बनाएको छ ।

हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले लेख्नुभयो, “आजको निर्णयसँगै युरोपेली सङ्घमा कानुनको शासन कमजोर भएको अनुभूति हुन्छ । हङ्गेरीले कानुनी व्यवस्था पुनःस्थापना गर्न आफ्नो सक्दो प्रयास गर्ने छ ।” स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले भन्नुभयो, “उहाँले युक्रेनका आगामी सैन्य खर्चका लागि रूसको सम्पत्ति प्रयोग गर्ने कुनै पनि योजना समर्थन गर्ने अवस्थामा छैनन् ।

यस निर्णयको एक हप्तापछि डिसेम्बरमा हुने युरोपेली परिषद बैठकमा नेता युक्रेनका तत्काल वित्तीय आवश्यकता पूरा गर्ने उपायबारे छलफल गर्ने छन् । अक्टोबरको बैठकमा रूसको सम्पत्ति युक्रेनको क्षतिपूर्ति ऋणका लागि प्रयोग गर्ने योजना बनाउन नेता असफल भएका थिए ।

रूसी बैङ्कले आफ्नो सम्पत्ति प्रयोग गर्ने युरोपेली योजनाविरुद्ध कानुनी कदम चाल्ने निर्णय गरेको छ । बैँकले यस प्रकारका कदमले अन्तर्राष्ट्रिय कानुन र सार्वभौमिकताको उल्लङ्घन गर्न सक्ने चेतावनी दिएको छ । रूसी राज्य समाचार एजेन्सी टास्कका अनुसार, रूसी बैङ्कले युरोक्लियर विरुद्ध मस्को मध्यस्थ अदालतमा मुद्दा दायर गरेको छ र क्षतिपूर्तिको माग गरेको छ । रासस/सिन्ह्वा