• २० मङ्सिर २०८२, शनिबार

मानव सेवा भवनको लागि करिब १० करोड संकलन

blog

महायज्ञबाट संकलन भएको रकमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्बिरः प्रदिप पन्त

प्रदिप पन्त 

बागलुङ, मंसिर २० गते । मानव सेवा आश्रमको भवन निमार्णका लागि बागलुङमा झन्डै दश करोड रुपियाँ संकलन भएको छ । भवन निर्माणका लागि कात्तिक २१ गतेदेखि २८ गतेसम्म बागलुङको नियरघाटमा आयोजना गरिएको श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञबाट सो रकम संकलन भएको हो ।

कुल नौ करोड ७७ लाख ७२ हजार ६१ रुपियाँ संकलन भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।  महायज्ञमा ८१ लाख ३७ हजार ४१० रुपियाँ खर्च भएको मूल आयोजक समितिका कोषाध्यक्ष सरिता गौतम खड्काले जानकारी दिनुभयो ।

महायज्ञबाट आएको रकमबाट खर्च कटाएर आठ करोड ९६ लाख ३४ हजार ६५१ रुपिया“ आश्रममा रहने उहाँले जानकारी दिनुभयो । 

नौ बर्षदेखि बागलुङ बजारमा अस्थायी रुपमा मावन सेवा आश्रमका रुपमा रहेको आश्रमले आफनै सुविधा सम्पन्न भवन निर्माण गर्न लागेको छ । नियरघाटमा निर्माणाधीन भवनका लागि पाँच करोड खर्च भइसकेको र अन्य चार करोड लाग्ने भएपछि महायज्ञ आयोजना गरिएको थियो । 

लक्ष्यअनुसारको रकम संकलन भएकोले आगामी ६ महिनाभित्र भवनले पूर्णता पाउने मावन सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । अहिले बागलुङमा रहेको आश्रममा ६४ जना आश्रित छन् । पालनपोषण तथा रेखदेखमा मासिक १० लाख रुपियाँ खर्च हुनेगरेको आश्रमले जनाएको छ ।