कविराज घिमिरे
हिले, मंसिर २० गते । धनकुटाको महालक्ष्मी नगरपालिका –७, साफु धनकुटामा विभिन्न कार्यक्रम आयोजना गर्दै चासुवा पर्व मनाइएको छ ।
महालक्ष्मी नगरपालिका ७ को आर्थिक सहयोगमा आयोजित कार्यक्रममा स्थानीयको सक्रिय सहभागिता छ । कार्यक्रमका मुख्य आकर्षणमा च्याब्रुङ नाच, धान नाच, डोकेनी नाचलगायतका सांस्कृतिक प्रस्तुति समावेश छन् ।
लोपोन्मुख संस्कृतिको संरक्षणमा युवाहरूको सक्रियता महत्वपूर्ण रहेको उल्लेख गर्दै किराँत याक्खा छुम्मा ७ कार्यसमितिका अध्यक्ष दनिराज लुम्बाले बताउनुभयो । यो पर्वमा अन्नबाली पाकेपछि पहिलो पटक इस्टदेवी–प्रकृतिलाई अर्पण गरी, माङ्बा–छाम्बाको सहयोगमा परम्परागत विधि अपनाइन्छ ।
त्यसपछि मात्र समुदायका सदस्यहरूले नयाँ अन्न ग्रहण गर्दै परस्पर हार्दिकता आदान प्रदान गर्छन् । याक्खा भाषामा “चासुवा” शब्द “चो” अर्थात् ‘खा’ र “ऊवा” अर्थात् ‘झोल’ भन्ने शब्दबाट बनेको मानिन्छ । कालान्तरमा ‘चोऊवा’ ‘चासुवा’ हुँदै प्रचलनमा आएको हो ।
चासुवा पर्वमा आफ्नै उत्पादन गरेका अन्नबाली प्रकृतिलाई अर्पण गरेर मात्र खाने धार्मिक–सांस्कृतिक परम्परा रहिआएको छ । आफूले लगाएको बाली थन्काएर नयाँ अन्न न्वागी गरी खाने प्रचलनलाई नै चासुवा पर्वको रूपमा मनाउने गरेको किराँत याक्खा छुम्मा जिल्ला कार्यसमिति धनकुटाका सल्लाहकार रुद्रबहादुर तुम्बाले बताउनुभयो ।
चासुवा तङ्नाम पूर्वी नेपालको याक्खा समुदायको एक मौलिक र महत्त्वपूर्ण पर्व हो । गाउँघरको बोलचालमा ‘न्वागी पूजा’ पनि भनिने यो पर्वलाई सामाजिक, सांस्कृतिक, धार्मिक, पारिवारिक तथा समग्र जीवन पद्धतिको नयाँ चक्र सुरु गर्ने विधि मानिन्छ ।