बुटवल समाचारदाता
बुटवल, मङ्सिर २० गते । तिनाउ नदीमा आकर्षक ‘सिग्नेचर पुल’ निर्माणका लागि सडक विभागको विकास सहयोग कार्यान्वयन महाशाखाले टेन्डर आह्वान गरेको छ । चिनियाँ, भारतीय, स्विस तथा नेपाली पुल विज्ञको परामर्शमा पुलको आर्किटेक्चर र स्ट्रक्चर डिजाइन तयार भइसकेपछि अब निर्माण प्रव्रिmयामा प्रवेश भएको हो ।
पूर्वपश्चिम महेन्द्र राजमार्गको निर्माणसँगै २०३८ सालमा बनेको बुटवलको हालको पुल साँघुरो र पुरानो भएपछि नयाँ आधुनिक संरचना निर्माणको आवश्यकता देखिएको थियो । सोही कारण नेपाली तथा विदेशी इन्जिनियरहरूको टोलीले आकर्षक तथा आधुनिक प्रविधियुक्त सिग्नेचर पुलको डिजाइन तयार पारेको हो । तत्कालीन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको पहलमा सिग्नेचर पुलको योजना अघि बढाइएको थियो । पुल निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन तथा प्रभावित बस्तीसम्बन्धी सहजीकरण बुटवल उपमहानगरपालिकाले गरेको थियो । अहिलेको पुल भत्काउन नपर्ने गरी त्यसैको छेउमा ४२१ मिटर लम्बाइ र चार लेनसहितको नयाँ पुल बन्ने छ ।
पुलको डिजाइन तयारीका व्रmममा तिनाउ नदीको दुवै किनारमा चेकड्याम बनाएर कृत्रिम ताल निर्माण गर्ने प्रस्ताव गरिएको छ । यसले नदी किनारमा सन्ध्या आरती आयोजना गर्न, रात्रिकालीन बजार सञ्चालन गर्न तथा बत्तीको झिलिमिली वातावरण बनाउन सहज बनाउँछ । साथै हरियाली पार्क, क्याफे, विश्राम स्थललगायतका संरचनाले पुल आसपासको क्षेत्रलाई मनोरञ्जनात्मक तथा पर्यटकीय हब बनाउने लक्ष्य राखिएको छ ।
नयाँ पुलले पूर्वपश्चिम यातायात सहज बनाउने मात्र होइन, जितगढी किल्ला, युद्ध सङ्ग्रहालय, बुटवलको पुरानो बस्ती, हिन्दु मन्दिर तथा मुस्लिम मस्जिदमा आउने पर्यटकलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ । विश्व बैङ्क–दक्षिण एसिया सहरी विकास एकाइको सहयोगमा बन्ने पुलका लागि आर्किटेक्ट डिजाइन भारतको ‘टोटल सिनर्जी कन्सल्टिङ’ कम्पनीले तयार पारेको हो । स्ट्रक्चर डिजाइन भने स्विस सरकारको ‘स्विस डेभलपमेन्ट कोअपरेसन’ ले गरेको छ ।
सिग्नेचर ब्रिज आधुनिक र अत्यन्तै आकर्षक संरचना मानिन्छ । विश्वका प्रमुख सहरमा यस्ता पुल पर्यटकीय पहिचानका रूपमा परिचित छन् यस्ता पुलमा बाक्लो स्टिल, उच्चस्तरको कङ्व्रिmट, जटिल पाइलोन र डेक प्रणाली तथा तार–समर्थित संरचनाको प्रयोग हुन्छ । निर्माणअघि वातावरणीय प्रभाव मूल्याङ्कन, भूअध्ययन, माटो परीक्षण र स्थल अनुसन्धान अनिवार्य मानिन्छ ।