गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १८ गते । उपत्यकालगायत देशैभरि छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले बिहीबार योमरी पुन्ही धुमधामसँग मनाउने भएको छ ।
कृषि कार्यसँग धान्य पूर्णिमाले विशेष महìव बोकेको छ । योमरी पुन्ही अर्थात् पूर्णिमाबाट औपचारिक रूपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ । नयाँ धानको चामलको पिठोलाई माछाको जस्तो स्वरूप बनाएर त्यसभित्र चाकु, तिल, दुधको खुवा आदि राखेर पानीको बाफबाट योमरी तयार पारिन्छ ।
संस्कृतिविद् चुन्दा वज्राचार्य भन्नुहुन्छ, योमरी पर्वलाई भाइचारा बढाउने र अर्कासँग रोटी साटासाट गर्ने पर्व भनिन्छ । नेपाल भाषामा ‘यःमरी’ को अर्थ ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी भन्ने बुझिन्छ । तसर्थ यसलाई मनपर्ने रोटी भनेर बुझ्ने गरिन्छ । योमरीलाई पञ्चतत्वका रूपमा पनि लिने गरिन्छ । धर्तीका रूपमा चामलको पिठो, अग्निका रूपमा चाकु, जलका रूपमा पानी, आकाशका रूपमा खाली ठाउँ र वायुका रूपमा तिललाई लिइन्छ ।
संस्कृतिविद् वज्राचार्यका अनुसार पहिला रोटीका नाममा सुक्खा रोटी मात्रै बन्थ्यो, अहिले जस्तो विभिन्न प्रकारका रोटी थिएनन् । पछि आफैँसँग भएका खाद्यान्नको उपयोग गरी नेवारले योमरीको विकास गरेको हो । त्यसबेला तिलको धुलो, चाकुको झोललाई मिसाएर चामलको पिठोमा राखेर आधुनिक रोटीको विकास भएको उहाँको कथन छ । यसरी नयाँ प्रकारको रोटी बनाउँदा सबैलाई मिठो लागेको र सबैलाई मनपर्ने भएको यसको नाम यःगु मरी हुँदै हाल ‘यःमरी’ रहन गएको वज्राचार्यले जानकारी दिनुभयो । योमरी बनाउनु भनेको लक्ष्मी भिœयाउनु हो । खेती गरेर आएको चामलको पहिलो पिठोबाट योमरी बनाउनु भनेको लक्ष्मीको आगमन गराउनु हो ।
भक्तपुरमा धनेश्वरमा योमरी चढाएर यो पर्व मनाइने भएको छ । यो दिन गरिबलाई योमरी दान दिँदा जति दिएको त्यसको आगामी वर्ष दोब्बर प्राप्त हुन्छ भन्ने कथन अनुसार योमरी वितरण गर्ने चलन परापूर्वकालदेखि चल्दै आएको हो ।