• १८ मङ्सिर २०८२, बिहिबार

अपाङ्ग दिवसमा सांस्कृतिक कार्यक्रम

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १८ गते ।  ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिमा भएका कलात्मक प्रतिभाका लागि मञ्च दिनुपर्नेमा जोड दिनुभएको छ ।  ललितपुर महानगरले बुधबार ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । उहाँले हरेक व्यक्तिमा लुकेको प्रतिभा हुन्छ, सो प्रतिभालाई फक्रने अवसर अभिभावक, शिक्षक तथा स्थानीय तहले योजना र लगानीसहित भौतिक तथा सांस्कृतिक वातावरण तयार गर्दै जानुपर्नेमा जोड दिनुभयो । 

ललितपुर महानगर प्रमुख महर्जनले ललितपुरका अपाङ्गता भएका व्यक्तिको सुविधाका लागि नयाँ बनेका र पुराना संरचनासमेत अपाङ्गतामैत्री बनाउँदै गएको र यातायातको सुविधा, अपाङ्गता भएका व्यक्तिको आर्थिक सशक्तीकरणका लागि गायन, वाद्यवादन, नृत्य र चित्रकलालगायतका कलात्मक प्रतिभा प्रस्फुटनको अवसरलाई प्राथमिकतामा राखेर सहयोग गरिरहेको बताउनुभयो । सो अवसरमा ललितपुर महानगरसँगको सहकार्यमा आकार फाउन्डेसनले चित्रकला प्रदर्शनीको आयोजना गरेको थियो । कलाकार कैलाश श्रेष्ठको क्युरेटिङमा आयोजित चित्रकला प्रदर्शनीमा विभिन्न प्रकारका अपाङ्गता भएका बालकलाकार साइश्री क्षेत्री, कृत अमात्य, रोजन थापा, उत्तम महर्जन, ग्रिनेश तामाङ, मौलिक भण्डारी, प्रनवराज जोशी, सुन्दर श्रेष्ठ, शिला महर्जन, लनी तामाङलगायतका चित्रकलाको प्रदर्शनी गरिएको थियो । 

कला प्रशिक्षक एवं क्युरेटर कैलाश श्रेष्ठले अटिजमलगायत विविध अपाङ्गता भएका बालबालिकामा चित्रकलामा केन्द्रित हुने, रङसँग खेल्ने, चित्रकलामा आफ्ना भावना व्यक्त गर्न पाउँदा अति नै आनन्द मानेर चित्रकला सिर्जना गर्ने क्षमता हुने अनुभव गरेको बताउनुभयो । 

आकार फाउन्डेसन नेपालका संस्थापक अर्चना शाहले अपाङ्गता भएका बालबालिकामा रहेको सिर्जनात्मक क्षमता बढाउने र आर्थिक सशक्तीकरणसँग जोडिने  अवसरका लागि फाउन्डेसनले काम गरिरहेको बताउनुभयो । सो कार्यक्रममा विविध अपाङ्गता भएका बालबालिका, किशोरकिशोरीले नृत्य, बाँसुरी, गायनको प्रस्तुति पनि दिएका थिए ।