नेपालको शिक्षाको उपलब्धि निरन्तर खस्कँदो गतिमा छ– कोभिड र कोभिडोत्तर कालमा पनि । त्यसो त यो खस्कँदो अवस्था कोभिडले मात्र होइन, कोभिडपूर्व पनि ओरालै गतिमा थियो । उदार कक्षा नीति र अक्षराङ्कनका नाउँमा गरिएका अभ्यास उत्पादकभन्दा प्रत्युत्पादक बन्न पुगेको देखिन्छ । शिक्षालाई घोकन्तेभन्दा अभ्यासमुखी बनाउने नाउँमा अपेक्षित पूर्वाधारको अभावमा न यो पश्चिमा देशझैँ प्रविधियुक्त बन्न सक्यो न त ज्ञानमुखी नै रह्यो ।
पाठ्यक्रम निर्माण गर्नेदेखि पाठ्यपुस्तक लेख्नेसम्मका विज्ञहरूले पनि आफ्नो विज्ञताको इमानदारीपूर्वक परिपालना गरेको देखिएन । सुरुमा बनेका पाठ्यक्रम र पाठ्यपुस्तकको वरिपरि नै घुमिरहेछ– दशकौँपछि पनि पाठ्यक्रम र पाठ्यपुस्तक । विश्वविद्यालयको पाठ्यक्रमको अवस्था पनि देखिन्छ यस्तै । जति पटक परिमार्जन गरे पनि र नयाँ नै लेखे पनि । कि तल र माथि, कि पहिलो वर्षका पाठ्यक्रमका कतिपय विषयलाई दोस्रोमा र दोस्रोलाई प्रथममा वा एउटा वर्षका पाठ्यक्रममा समाविष्ट अंशलाई अर्को वर्षमा लगेर मिसाइदिने र कतिपय विषयलाई स्नातकोत्तरबाट झिकेर स्नातकमा ल्याउने र केही एउटा÷दुइटा अध्यायलाई नयाँ थप्ने कामबाहेक गहिरो गरी अध्ययन, अनुसन्धान गर्ने गराउने र तयार पार्ने कार्य भएको देखिन्न । अझ विश्वविद्यालयको नतिजा हेर्ने हो भने वार्षिक उपलब्धि त झन् झन्डै पाँचदेखि १० प्रतिशत । सेमेस्टर कार्यक्रमले धानेको छ– अहिले थोरै भए पनि मान र शान । साधारण सङ्कायतर्फको उपलब्धि हेर्ने हो भने अत्यन्तै टीठलाग्दो अवस्था छ यसको ।
तर माध्यमिक तहतर्फ फर्केर हेर्ने हो भने सिकाइ उपलब्धि सापेक्ष रूपमा राम्रो लागे पनि ज्ञान, सीप र अभिवृत्ति हेर्ने हो भने त्यति उत्साहप्रद लाग्दैन । सिकाइ क्षमताको मूल्याङ्कन गर्ने हो भने सुखद देखिन्न । सिकाइको गुण र क्षमता क्रमशः आरोहित हुनुभन्दा क्रमशः तिरोहित हुँदै गएको छ । सामान्य रूपमा भन्दा छ कक्षा उत्तीर्ण भइसकेको बच्चालाई अझै घरायसी चिठी लेख्ने ढङ्ग आउँदैन । निवेदन लेख्ने ढाँचा नै थाहा छैन । वर्णविन्यास मिलाउने कुरा त टाढै भयो । वाक्य गठनसम्बन्धी क्षमता ज्यादै कमजोर पाइएको छ । अन्य विषयको सिकाइ क्षमता पनि त्यस्तै नाजुक पाइएको छ ।
सामान्य रूपमा भन्दा अधिकांशलाई सात चौको कति हुन्छ भन्ने प्रश्नको उत्तर पनि आउँदैन । क्याल्कुलेटरबिना कुनै सानो हिसाब गर्ने हैसियत देखिन्न धेरैको । प्रविधिले हाम्रो मस्तिष्कको सिर्जनशीलतालाई नै मरुभूमिकृत तुल्याइदिएको छ अहिले । अङ्ग्रेजी माध्यममा पढ्नेहरूको अवस्था अङ्ग्रेजीमा केही राम्रो रहे पनि तिनको अन्य विषय अपेक्षित राम्रो पाउन दुष्कर छ । पाइहाले पनि अपवादमा भन्दा अतिशयोक्ति हुन्न आजभोलि त । यसर्थ पनि सिकाइमा गुणस्तर ल्याउन धेरै पक्षमा सुधार गर्नु आवश्यक देखिन्छ ।
परीक्षा प्रणाली
परीक्षाले सिक्ने र सिकाउने दुवैलाई कसी लगाउँछ । जति व्यवस्थित परीक्षा भए त्यति नै सिकाइमा निखार आउन थाल्छ । सिकाइलाई प्रभावकारी र सबल तुल्याउने कार्यमा शिक्षक निर्मित परीक्षा र आन्तरिक परीक्षाले पूरकको काम गर्ने गर्छ । यसले कक्षोन्नतिका निम्ति लिइने परीक्षालाई उपलब्धिपूर्ण तुल्याउने काममा समेत थप सहयोग पु¥याउँछ । पहिले कलस्टर तहमा पाँच कक्षा, जिल्ला तहमा आठ र टेस्ट भनेर १० कक्षा, राष्ट्रिय रूपमा एसएलसी (एसईई), उच्च माध्यमिक तहबाट कक्षा ११ र १२ का परीक्षाहरू हुन्थे । यसले विद्यार्थीलाई पटकपटक कसी लगाइरहेको हुन्थ्यो भने शिक्षकलाई पनि आपूmले उत्तरदायित्व लिएका विद्यार्थीलाई उत्तीर्ण गराउनुपर्ने नैतिक दायित्व रहने गथ्र्यो । दुवै संवेदनशील भएर सिकाइमा क्रियाशील हुन्थे र नतिजा पनि अपेक्षाकृत केही सन्तोषजनक हुने गथ्र्यो । अहिले त्यस्तो स्थिति छैन । त्यसलाई अब झनै सबल र सशक्त तुल्याउनुपर्ने देखिएको छ ।
अब तीन कक्षालाई वार्ड स्तरीयमा, पाँच कक्षालाई नगरपालिका वा गाउँपालिका तहमा, आठ र १० को टेस्टलाई जिल्ला स्तरीयमा, प्रादेशिक वा राष्ट्रिय तहबाट नै १० कक्षालाई तथा कम्तीमा पनि ११ र १२ दुवै कक्षाको परीक्षा लिइनु आवश्यक देखिन्छ । तीन, पाँच, आठ, १०, ११ र १२ कक्षाबाहेक अन्य कक्षामा समेत पठनपाठनलाई अझ सशक्त विद्यालयले कडाइका साथ आन्तरिक तहमा परीक्षा लिएर त्यसको यथार्थ अङ्कअनुसार कक्षोन्नति गर्नु जरुरी छ । अन्यथा सिकाइ आरोहित गतिमा नभई तिरोहित गतिमा झर्ने निश्चित छ ।
यसमा राम्रो अध्ययन र लेखनमा पनि निखार नल्याएसम्म उत्तीर्ण नै नहुने भएपछि विद्यार्थीलाई उत्तीर्ण हुन दबाब पर्छ । अभिभावक, विद्यालय र शिक्षकलाई पनि उत्तिकै दबाब पर्न जान्छ । त्यसको परिणाम पनि सकारात्मकतातिर अभिमुख हुन थाल्छ । ससाना कक्षामा विद्यालयमा भर्ना गरेको र विद्यालयमा उपस्थित भएकै भरमा उत्तीर्ण गरिरहँदा तल्लो तहमा शिक्षण गरिरहने शिक्षक, विद्यालय र अभिभावकमा त्यस्तो दबाब पर्दैन र बालक कक्षा र तहअनुरूप सिकाइ उपलब्धि हासिल नगर्दै माथिल्लो तहमा पुग्छ । माथिल्लो तहसम्म आवश्यक आधारभूत ज्ञान, सीप र अभिवृत्ति प्राप्त नगरीकन पुग्दा कठिनाइ हुन्छ माथिल्ला तहमा । माथिल्ला कक्षाअनुरूप तयार पारिएका पाठ्यसामग्री तिनका लागि बोधभन्दा बोझ बन्न जाने र माथिल्ला तहका शिक्षकलाई पनि केही नजानेकालाई आधारभूत विषयको ज्ञान गराइरहन असहज हुने हुँदा त्यहाँ समस्या पैदा हुन पुग्छ र अपेक्षित उपलब्धि हासिल हुँदैन । यसर्थ सानै कक्षाबाट उपलब्धि प्राप्तिपश्चात् मात्र कक्षोन्नति गर्ने–गराउने पद्धतिको विकास गर्नु जरुरी छ ।
उपलब्धिको तथ्यपरक मापन तथा मूल्याङ्कन गरेर मात्र कक्षोन्नति गर्ने र उपलब्धि हासिल नभएकालाई कक्षोन्नति गर्नु जरुरी छ । यसर्थ सिकाइलाई सशक्त र सबल बनाउने कडी भनेको परीक्षा नै हो । यसमा कमीकमजोरी हुँदा पाठ्यक्रम, पाठ्यपुस्तकका निर्मातादेखि विद्यालय प्रशासन र शिक्षकमाथि पनि प्रश्न उब्जन्छ । फलतः सबैतिर सुधार गर्न आवश्यक पहल लिनु र गर्नु अनिवार्य हुन आउँछ । माध्यमिक तहका १०० पूर्णाङ्कमध्ये सैद्धान्तिकका लागि ७५ प्रतिशत र आन्तरिकका लागि २५ प्रतिशत अङ्क छुट्याइएको छ । यसमध्ये जुन आन्तरिकका लागि छुट्याइएको २५ प्रतिशत अङ्क हो, यसका लागि गरिनुपर्ने कुनै पनि कार्य प्रायःले गरेको देखिन्न ।
पाठ्यक्रम र पाठ्यपुस्तक
वर्तमानमा माध्यमिक तहका विभिन्न तहमा पाठ्यक्रम परिवर्तन भइरहेछ । पूर्वपाठ्यक्रमका सबलता र दुर्बलताबारे गहन अध्ययन, अनुसन्धान गरी ती दुर्बलता हटाएर पाठ्यक्रम बनाइएको पाइँदैन । बिनाअध्ययन, अनुसन्धान गरिएका कार्यले अपेक्षित लक्ष्य हासिल हुन सम्भव हुँदैन । पाठ्यपुस्तक लेखनमा समेत त्यस्तै मनपर्दी गरिएको संसद्मा र शिक्षा क्षेत्रमा उठेका आवाजले यस तथ्यको पुष्टि हुन्छ । पाठ्यपुस्तकमा देखिएका कैयौँ अघिल्ला दुर्बलता परिमार्जित पाठ्यपुस्तकमा पनि ज्युँका त्युँ देखिन्छन् ।
यसर्थ पाठ्यक्रम र पाठ्यपुस्तक परिमार्जन, परिष्करण र पुनर्लेखन गरिरहँदा अघिल्ला पाठ्यक्रमको अध्ययन, अनुसन्धान र समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आवश्यकतालाई पनि ध्यानमा राख्नु आवश्यक छ । पाठ्यपुस्तक तयार पार्ने क्रममा विषयविज्ञहरूले आपूmनिकट लेखकका रचनालाई स्थान दिने गरेको पाइएको छ । दलीय प्रभाव, हेलो हायको प्रभाव आदि इत्यादिजन्य प्रभावबाट सामग्री चयन गर्ने परिपाटीले पाठ्यपुस्तकको ओज र गरिमा बढ्नुभन्दा घट्दो क्रममा रहेको छ । सँगसँगै पाठ्यक्रमले निर्धारित गरेका उद्देश्य परिपूर्ति हुने सम्भावना क्षीण भएर गएको देखापर्छ । पाठ्यक्रमलाई परिमार्जित गर्नुपर्ने भए गहन अध्ययन, अनुसन्धान गरेर मात्र गर्नुपर्छ ।
शिक्षण विधि
सिकाइमा आधुनिक विधि र प्रविधि उपयोग गर्नु अपेक्षित हुन्छ । विषय र सन्दर्भअनुसार तिनको उपयोग गर्नुपर्छ । ज्ञानोत्पादनका निम्ति गरिने अध्ययनमा विधि र प्रविधिका साथै विषयवस्तुको संज्ञानात्मक ज्ञान गर्नु आवश्यक छ । सैद्धान्तिक ज्ञान मानसपटलमा धारण नगरेसम्म अर्को ज्ञानोत्पादन गर्न कठिन हुन्छ । संज्ञानात्मक ज्ञानको धरातलमा उभिएर मात्र ज्ञानोत्पादनको द्वार खुल्न सक्छ । गरेर हेर्ने, हेरेर गर्ने वा सैद्धान्तिक ज्ञानको धरातलमा उभिएर गर्ने गर्दा नै सिकाइमा सशक्तता प्राप्त हुन्छ । यसर्थ सबैखाले विधिका साथै संज्ञानात्मक विधि पनि उपयोग गर्ने पद्धतिलाई पनि सँगसँगै लैजानु आवश्यक छ ।