• ६ मंसिर २०८२, शनिबार

गोरखामा पाँच वटा मतदान केन्द्र थप गर्न माग

blog

गुणबहादुर रोका 
सुलीकोट, मङ्सिर ६ गते ।
गोरखामा आगामी निर्वाचनलाई सहज र सुरक्षित रुपमा सम्पन्न गर्न गोरखा जिल्लाका स्थानीय बासिन्दा तथा गोरखामा क्रियाशील राजनीतिक दलहरुले जिल्लामा थप ५ वटा नयाँ मतदान केन्द्र स्थापना गर्न माग गरेका छन् । स्थानीयहरुले विशेष गरी भौगोलिक दुर्गम क्षेत्र, लामो हिँड्डुल दूरी, भीडभाड र सुरक्षाका व्यवस्था चुनौतीका कारण नयाँ मतदान केन्द्रहरुको आवश्यकता रहेको बताएका छन् ।

जिल्ला भित्रका उत्तरी गोरखाका चुमनुब्री गाउँपालिका – ६ को सिप्चेत आधारभुत विद्यालय केन्द्र भौगोलिक हिसाबले टाढा भएकाले वडा नम्बर ६ को लाक्पा सामुदायिक स्वास्थ्य इकाई लोक्पामा कायम गर्न माग गरिएको छ ।

त्यस्तै, चुमनुब्री गाउँपालिका– ६ को चुमलिङ आधारभुत विद्यालय चुम्चेतबाट भौगोलिक हिसाबले टाढा भएकाले वडा नम्बर ६ कै खार सामुदायिक खोप केन्द्र खारमा मतदान केन्द्र कायम राख्न माग गरिएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

पालुङटार नगरपालिका – ६ मा रहेको बिरभद्र प्राबि भौगोलिक दूरीका हिसाबले टाढा भएकाले जीबनज्योति मावि कालामाटा बरपिप्ले कायम गर्न माग गरिएको छ भने शहिद लखन गाउँपालिका – ३ मा रहेको गंगाधर्म मावि भौगोलिक हिसाबले टाढा भएकाले करनटार प्रावि करनटार कायम गर्न माग आएको छ ।

शहिद लखन गाउँपालिका– ३ मा रहेको गंगाधर्म मावि दारसिङबाट ७ किलोमिटर कच्ची सडक पर्ने भएकाले जीवनज्योति प्रावि नाम्जुङटार कायम गर्न माग आएको जिल्ला निर्वाचन कार्यालय गोरखाका नायब सुब्बा रबिलाल सुबेदीले बताउनुभयो ।

यी ५ वटा मतदान केन्द्रमा पुग्न झण्डै ४ घण्टा जनि लाग्ने भएकाले पनि वृद्ध वृद्धा, महिला, अपाङगा भएका व्यक्ति तथा विद्यार्थीहरुले मतदान गर्न कठिनाइ भोगिरहेको गुनासो आएपछि गोरखामा क्रियाशील राजनितिक दलका प्रतिनिधिहरुले जिल्ला निर्बाचन कार्यालयमा संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा भौगोलिक विकटता पूर्वाधार अभावका कारण अहिलेका मतदान केन्द्र प्रयाप्त नभएको उल्लेख गरिएको छ । पाँच वटै नयाँ मतदान केन्द्रका लागि सम्भावित स्थानहरुको सूची समेत प्रस्ताव गरिएको छ ।

राजनीतिक दलका प्रतिनिधिले मतदान केन्द्र थप गर्न पत्र पठाएपछि जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले निर्वाचन कार्यालयको सचिज.वालयमार्फत केन्द्रीय निर्वाचन कार्यालयमा पठाइएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

पाँच वटा मतदान केन्द्र थप गर्नका लागि स्थानीय र सक्रिय राजनितिक दलका प्रतिनिधिहरुले आगामी निर्वाचनमा समस्याको समधान गर्दै निर्वाचन आयोगलाई सबै मतदाताले सहजै मतदान गर्न पाउने वातवरण बनाउन आग्रह समेत गरेका छन् ।