• ६ मंसिर २०८२, शनिबार

‘पुस्तकले चीनको विकास बुझाउँछ’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ६ गते । लेखक पत्रकार चेतनाथ आचार्यद्वारा लिखित पुस्तक ‘चिनियाँ दृष्टिकोण’ राजधानीमा लोकार्पण भएको छ ।  नेपाल प्रज्ञा–प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरे, चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौडेल, प्राध्यापक तथा कानुनविद् लेखक डा. युवराज सङ्ग्रौला र लेखक आचार्यले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको हो ।

सभामुख घिमिरेले चीनलाई चिन्नु भनेको ऐतिहासक सम्बन्ध रहेको बताउँदै भन्नुभयो, “चीनले गरेका विकासले विश्वले सिक्नुपर्ने कुरा र यसमा फैलिरहेका रङ, टिप्पणी, आलोचना र विरोधका वास्तविकता के हो भन्ने कुरा बुझ्नका लागि पुस्तकले सुरुवात गरेको छ ।” सभामुख घिमिरेले लेखक आचार्यले चीनको संस्कृति, भूगोल, राजनीति, अर्थतन्त्र, पर्यटन कस्तो छ भन्ने कुरा बेइजिङ डायरीमार्फत विस्तृत रूपमा जानकारी दिइरहनुभएको बताउनुभयो । पुस्तकले चीनले गरेका विकास के हुन् र त्यसले संसारलाई खासगरी ग्लोबल साउथलाई पार्ने असर र ग्लोबल नर्थले हेरिरहेका दृष्टिकोणका बारेमा बुझ्न सजिलो बनाउँछ । 

पूर्वराजदूत पौडेलले पुस्तकमा चीनको आधिकारिक दस्ताबेजको उल्था गरिएको बताउनुभयो । पौडेलले बिआरआइका बारेमा बुझ्न चाहनेका लागि पुस्तक सहयोगी बन्ने बताउनुभयो । उहाँले पुस्तकमाथि टिप्पणी गर्दै भन्नुभयो, “भावानुवाद कम शब्दानुवाद बढी भएको छ । भाषा क्लिष्ट पनि छ ।” पौडेलले लेखक आचार्यका आठ किताबमध्ये पाँच किताबले चिनियाँलाई चिनाउने कोसिस गरेको पनि बताउनुभयो ।

प्राध्यापक सङ्ग्रौलाले पुस्तक सूचनात्मक र विश्लेषणात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “चिनियाँ विकास सूचना धेरै छन् र चिनियाँ डेमोव्रmेसी बुझ्नका लागि पुस्तक सहयोगी बन्न सक्छ ।”२८ वर्षदेखि पत्रकारितामा सक्रिय लेखक आचार्यले चीनका बारेमा बुझ्न सजिलोका लागि पुस्तक तयार पारेको बताउनुभयो । १२ वर्षदेखि बेइजिङस्थित चिनियाँ मिडिया ग्रुप ‘सिएमजी’ नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ आचार्य । आचार्यले चीनमा रहँदा त्यहाँको संस्कृति, चालचलन, भूगोल, पर्यटन, राजनीति, समाजका बारेमा लेख्दै आउनुभएको छ । चीनको विकासले विश्वलाई सकारात्मक प्रभाव पारेको बताउने आचार्यका हालसम्म आठ पुस्तक प्रकाशित छन् । पुस्तक मकालु ग्रुप एन्ड कम्पनीले प्रकाशनमा ल्याएको हो ।