अमरराज नहर्की
तनहुँ, मङ्सिर ६ गते । रैथाने बालीको रूपमा मानिएको कोदोको बजार माग पछिल्लो केही वर्षयता निरन्तर बढ्दै गएको छ । विशेषगरी स्वास्थ्यप्रति सजग उपभोक्ताले कोदोका परिकार रोज्न थालेकाले उत्पादन बढाउन स्थानीय तह तथा विभिन्न कृषि निकायले किसानलाई प्रोत्साहनका कार्यक्रम अघि सारेका छन् । यिनै प्रयासअनुसार कृषि विकास कार्यालय तनहुँले कोदो उत्पादनमा किसानलाई आकर्षित गर्न अनुदान वितरण गर्ने तयारी गरेको छ ।
रैथाने बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत दस लाख रुपियाँको बजेट विनियोजन गरी कोदो उत्पादनमा सङ्लग्न कृषक, समूह तथा सहकारीलाई कोदो चुट्ने मेसिनमा अनुदान उपलब्ध गराइने कार्यालयले जनाएको छ । कृषि विकास कार्यालयका प्रमुख गोपाल शर्मा लामिछानेका अनुसार यान्त्रिक सहुलियत उपलब्ध भएमा किसानलाई परम्परागत कोदो प्रशोधनमा लाग्ने समय, श्रम तथा लागत घट्दै जान्छ र त्यसले उनीहरूलाई व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ । लामिछानेले भन्नुभयो, “उपकरणको सहयोगले किसानको काम छिटो र सहज हुने भएकाले उत्पादन बढाउन यो पहिलो चरणको पहल हो ।” खाद्य सुरक्षामा योगदान पु–याउने उद्देश्यले सरकारले गत वर्षदेखि राष्ट्रिय कोदो दिवस मनाउन थालेपछि स्थानीय तहहरूले समेत यस बालीतर्फ विशेष ध्यान दिन थालेका छन् ।
कार्यालयका कृषि अर्थ विज्ञ सुरज गैरेका अनुसार धान, मकैजस्ता मुख्य बालीमा जस्तै कोदोखेतीमा यान्त्रीकरण गर्न नसकिएको र आधुनिक प्रविधि नपुगेकोले गर्दा केही वर्षयता किसानको आकर्षण घटेको थियो । तर बजारमा रैथाने कोदोलाई प्राथमिकता बढ्दै जाँदा पुनः व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या विस्तारै बढ्न थालेको उहाँको भनाइ छ ।
तनहुँका अधिकांश क्षेत्र कोदोखेतीका लागि उपयुक्त तापक्रम र माटो भएकाले उत्पादन विस्तार गर्न ठुलो सम्भावना रहेको कार्यालयको मूल्याङ्कन छ । मधुमेह, हड्डी कमजोर भएका, पेसर, ग्याष्ट्रिकजस्ता स्वास्थ्य समस्या भएका व्यक्तिले कोदोका परिकार बढी उपभोग गर्न थालेपछि बजार माग झनै बढेको छ । ग्रामीण भेगमा मदिरा उत्पादनका लागि पनि कोदो महत्त्वपूर्ण घटकका रूपमा प्रयोग हुँदै आएको छ । पछिल्ला वर्षमा शहरी बजारमा कोदोको ढिँडो, ढकनी, खोले, ब्रेड, नुडल्सजस्ता परिकार तयार गरेर बिक्री गर्ने उद्यम बढेपछि कोदोको मूल्य र माग दुबै बाढिरहेको कृषि अर्थ विज्ञ गैरेले बताउनुभयो ।
यद्यपि, खेतीयोग्य भू–भाग प्रशस्तै रहे पनि उत्पादन भने घट्दो क्रममा रहेको छ । युवाशक्ति वैदेशिक रोजगारीतर्फ आकर्षित भई गाउँमा श्रमिक अभाव बढेपछि जमिन बाँझै राख्ने प्रवृत्ति देखिएको छ । ज्येष्ठ नागरिकमात्र खेतीपातीमा सक्रिय रहँदा परम्परागत रूपमा परिवारलाई पुग्ने मात्राको कोदो मात्र उत्पादन हुने गरेको कार्यालयले जनाएको छ । व्यवसायिक रूपमा उत्पादन गर्न चाहने किसानले समेत रोपाइँ, गेडाइँ जस्ता कामका लागि श्रमिक अभावलाई मुख्य चुनौतीका रूपमा औंल्याएका छन् ।
म्याग्दे, ऋषिङ, घिरिङ, भिमाद, देवघाटलगायत क्षेत्र कोदो उत्पादनका मुख्य भू–भाग मानिन्छन् । तर स्थानीय उत्पादन माग धान्न नसक्दा तनहुँमा बर्सेनि बाहिरी जिल्लाबाट कोदो ल्याउनुपर्ने बाध्यता रहेको कार्यालयले जनाएको छ । गत वर्ष जिल्लामा झन्डै ६ हजार ५० हेक्टर क्षेत्रमा कोदो खेती भई नौ हजार ३१७ मेट्रिक टन उत्पादन भएको थियो । कार्यालयको भनाइअनुसार यान्त्रिकीकरण, आधुनिक प्रविधि र किसानलाई निरन्तर प्रोत्साहन उपलब्ध गराउन सके उत्पादनमा उल्लेख्य वृद्धि गर्न सकिने सम्भावना प्रशस्त छ ।