सहदेव बस्नेत
जाजरकोट, मङ्सिर ६ गते । जिल्लाका ७ स्थानीय तहका ७७ वडामध्ये हालसम्म ५२ वडाबाट अनलाइन प्रणालीबाट नागरिकता सिफारिस कार्य प्रारम्भ भएको छ । स्थानीय तहबाट अनलाइन नागरिकता सिफारिस प्रणाली सम्बन्धमा गृह मन्त्रालयको मिति २०८२/६/३१ गतेको परिपत्रअनुसार यस जिल्लामा अनलाइन नागरिकता सिफारिस प्रणाली अनिवार्य लागू गर्न सुरुवात भएको हो ।
हालसम्म भेरी नगरपालिकाका १३ वटै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरिएको छ । जिल्लाका ७ वटा स्थानीय मध्य सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस गर्नेमा भेरी नगरपालिका पहिलो स्थानीय तह बनेको छ ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलका अनुसार नलगाड नगरपालिकाका १३ वटा वडा मध्य ६, ९ र १३ वडा बाँकी रहेका छन । शिवालय गाउँपालिकामा वडा नं ४ मात्र बाँकी रहेको छ । त्यस्तै सबैभन्दा बढी बाँकी छेडागाड नगरपालिकाका २, ४, ५, ७, १०, १२, १३ रहेका छन् भने बारेकोट गाउँपालिकामा २, ३, ५, ८ र ९ बाँकी रहेका छन् । जुनीचाँदे गाउँपालिकामा १, २, ६, ८ र ९ बाँकी रहेको कुशे गाउँपालिकाका १, ५, ८ र ९ बाँकी रहेको छन् ।
अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, छरितो र प्रविधिमैत्री सेवा प्रवाह हुने, झुटा र किर्ते विवरण भरेर नागरिकता लिने कार्य रोकिने हुँदा यो सेवा प्रभावकारी हुने प्रजिअ पौडेलको भनाइ छ ।
नगरपालिकाले वडा नं ६ बाट जिल्लामा पहिलो पटक अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस गर्ने कार्यको सुरूवात गरेको थियो । भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले हाल १३ वटै वडामा एकैसाथ अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु भएको बताउनुभयो । वडा कार्यालयमा आवश्यक कागजपत्र लिएर गएपछि अनलाइनमार्फत नागरिकताको प्रमाणपत्रका लागि सिफारिस हुने घर्तिले बताउनुभयो ।
सबै वडा सचिव कर्मचारीलाई अनलाइन सिस्टममा विवरण अध्यावधिक गर्दा हुन सक्ने त्रुटिका बारेमा सावधानीपूर्वक काम गर्न नगरप्रमुख घर्तीको आग्रह छ ।
सबै वडाका वडा सचिव तथा कर्मचारीहरूको विद्युतिय प्रयोग खाता बनाएर अनलाइन प्रणालीबाट नागरिकता सिफारिस सुरू गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत सूर्य प्रसाद लम्सालले जानकारी दिनुभयो ।
यो प्रणाली लागू भएसँगै अब नयाँ नागरिकता प्राप्तिका लागि निवेदन दिने सेवाग्राहीले नागरिकता लिन आवश्यक पर्ने सिफारिसका पत्रहरु बोकेर जिल्ला, इलाका प्रशासनमा बुझाउनुपर्ने झञ्झट हट्नेछ । सफ्टवेयर प्रणालीमा प्रविष्ट भएका विवरणहरु गृहअन्तर्गत नागरिकता फाँट विभागमा रजिष्टेशन कोडका आधारमा सहजै नागरिकता पाउन सकिन्छ ।