• ६ मंसिर २०८२, शनिबार

शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजना बनाइने

blog

जनार्जन खत्री
सर्लाही, मङ्सिर ६ गते ।
शीतलहर प्रभावितका लागि राहत वितरणको योजना बनाइ तत्काल परिचालन हुने संयन्त्र गठन गर्ने सर्लाहीका कार्यालय प्रमुखहरुको बैठकले निर्णय गरेको छ ।

मङ्सिरदेखि फागुन मसान्तसम्म शीतलहर तथा जाडोबाट जनजीवन प्रभावित हुने भएकाले सरोकारवाला प्रत्येक कार्यालय तथा निकायले शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजना बनाई प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामुराज कडरियाको अध्यक्षतामा शुक्रबार दिउँसो सम्पन्न बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौँबाट प्राप्त शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८२ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय भएको छ ।

सर्लाहीसहित तराई मधेश क्षेत्रमा विस्तारै चिसो बढ्दै जान थालेपछि कार्यालय प्रमुखहरुको बैठकमा शीतलहर र जाडो प्रभावितलाई के–कसरी सुरक्षित राख्ने भन्ने विषयमा छलफल भएको हो । मधेशमा चिसोबाट वर्षेनि धेरै मानिसको मृत्यु हुने गरेको छ भने अधिकांश गरिब, विपन्न तथा असहाय परिवार प्रभावित हुने गरेका छन् ।

कार्यालय प्रमुखहरुको बैठकले आपत्तकालीन कार्यसञ्चालन केन्द्र कार्यविधि–२०८२ अनुरुप प्रत्येक स्थानीय तहले स्थानीय आपत्तकालीन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउने निर्णयसमेत गरेको छ । बैठकमा सबै कार्यालयहरुले नागरिकलाई महसुस हुने गरी गुनासोरहित सेवा प्रवाहको व्यवस्था मिलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कडरियाले बताउनुभयो ।

त्यस्तै कर्मचारी मिलन केन्द्र सर्लाहीको म्याद सकिएको हुँदा मङ्सिर मसान्तभित्र नयाँ समिति गठन गर्ने गरी मलङ्गवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमप्रसाद घिमिरे अध्यक्ष रहनेगरी सात सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

समितिमा भेटेरिनरी अस्पताल तथा पशु कार्यालयका प्रमुख उपेन्द्रप्रसाद सिंह उपाध्यक्ष, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख सम्झना लामिछाने कोषाध्यक्ष, रामनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश महतो सदस्य, ब्रम्हपुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन्नजयप्रसाद दास सदस्य, यातायात कार्यालय मलंगवाका प्रमुख शशी यादव सदस्य र जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेशकुमार यादव सदस्य रहनुभएको छ ।