मुसीकोट समाचारदाता
रुकुमपश्चिम, मङ्सिर ६ गते । स्थानीय प्रशासनले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लामा तय भएका मतदान स्थलको सुरक्षा संवेदनशीलता वर्गीकरण गरेको छ । जिल्लाका ७६ वटा मतदान स्थललाई तीन भागमा वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीका अनुसार निर्वाचनका लागि सुरक्षाका दृष्टिकोणले मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यका रूपमा विभाजन गरिएको छ । जस अनुसार २१ वटा मतदान स्थल अति संवेदनशील, ४३ वटा संवेदनशील र १२ वटा सामान्य रहेका छन् ।
प्रजिअ थानीका अनुसार जिल्लामा सडकको पहुँच, दुर्गम, सञ्चार सम्पर्क, सुरक्षाको दृष्टिकोणले दुरी, विगतका चुनावमा भएको गतिविधि, राजनीतिक गतिविधिको प्रतिस्पर्धा, पूर्वाधारको अवस्थालगायतका आधारमा संवेदनशीलता वर्गीकरण गरिएको हो । २१ वटा मतदान स्थल भने सडकको सहज पहुँच नभएका, दुर्गम, सुरक्षा बेसदेखि टाढाको दुरी, विगतका चुनावी गतिविधिलगायत कारणले अति संवेदनशील मानिएको छ ।
रुकुमपश्चिमका छ स्थानीय तहमा ७६ मतदान स्थल रहेका छन् । आठबिसकोट नगरपालिकामा सबैभन्दा बढी र संवेदनशील मतदान स्थल रहेका छन् । यहाँका १६ वटा मतदान स्थलमध्ये ११ वटा अति संवेदनशील रहेका छन् । चौरजहारी नगरपालिकामा १४ वटा, मुसीकोट नगरपालिकामा १५ वटा मतदान स्थल कायम गर्नका लागि प्रशासनले निर्णय गरेको छ । सानीभेरी गाउँपालिकामा ११ वटा, बाँफीकोट गाउँपालिकामा १० वटा र त्रिवेणी गाउँपालिकामा १० वटा मतदान स्थल कायम गरिएको छ ।
यसैबिच प्रशासन कार्यालयले कायम भएकामध्ये तीन वटा मतदान केन्द्र सार्न निर्वाचन आयोगसमक्ष प्रस्ताव गरेको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–३, खारानेटास्थित गाउँपालिका अस्पतालमा रहेको मतदान स्थललाई सोही वडाको सरस्वती आधारभूत विद्यालय हर्लेखारामा सार्न प्रस्ताव गरिएको छ । आठबिसकोट नगरपालिका–७ को सामुदायिक स्वास्थ्य क्लिनिक बैरीगाउँमा रहेको मतदान स्थललाई सोही वडाको दाजेमा रहेको वडा कार्यालयमा र आठबिसकोट नगरपालिका–१२ स्थित जनकल्याण माध्यमिक विद्यालय सानीबार्खुमा रहेको मतदान स्थललाई वडा नं. १२ को कार्यालयमा सार्न प्रस्ताव गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लामा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित ढङ्गबाट सम्पन्न गर्नका लागि केन्द्रीय सुरक्षा समितिको निर्देशन अनुसार काम सुरु भएको प्रजिअ थानीले उल्लेख गर्नुभयो ।
मदतान केन्द्र थप
सिँजा समाचारदाताका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय जुम्लाले दुई वटा मतदान केन्द्र थप गर्न र एउटा केन्द्र स्थानान्तरण गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
जिल्लाको हिमा गाउँपालिका–१ र पातारासी गाउँपालिका–७ मा एक÷एक मतदान केन्द्र थप र तिला गाउँपालिका–९ मा एक मतदान केन्द्रको ठाउँ सार्न केन्द्रीय निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख नारायणी आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अनलाइनबाट आफ्नो मतदाता नामावली बनाउन सकिने व्यवस्था रहेकाले जिल्लामा करिब ८४९ जना नयाँ मतदाता थपिएका छन् । यसैबिच कार्यालयले यहाँस्थित मतदान केन्द्रको अवस्थाबारे सर्वपक्षीय बैठक गरी मतदाता नामावली सङ्कलन, मतदान केन्द्र, निर्वाचन प्रव्रिmयालगायत विषयमा छलफल अघि बढाएको छ ।
कालीकोटमा थप्न सिफारिस
कालीकोट समाचारदाताका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले दुई वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ । जिल्लाको खाँडाचव्रm नगरपालिका–३ र ८ मा एक÷एक मतदान केन्द्र थप गर्न केन्द्रीय निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय कालीकोटका कार्यालय प्रमुख विश्वमङ्गल शर्माले जानकारी दिनुभयो ।
नयाँ सिफारिस भएका मतदान स्थल वडा नं. ३ को नैनेलदेव आधारभूत विद्यालय सियालामा १८० मतदाता र वडा नं. ८ को कुलदेव आधारभूत विद्यालय चिमगाउँ केन्द्रमा १४२ मतदाता रहेका छन् । भौगोलिक रूपमा टाढा भएकाले यी दुई विद्यालयमा मतदान केन्द्र राख्नुपर्ने कार्यालयले ठहर गरेकाले केन्द्रीय निर्वाचन आयोगमा सिफारिस गरिएको छ । सिफारिस गरिएका केन्द्र स्वीकृत भएर आएमा कालीकोटका जम्मा मतदान केन्द्र १२५ हुने छन् भने मतदात स्थल १०५ हुने छन् । यसअघि कालीकोटमा मतदान केन्द्र १२३ र मतदान स्थल १०३ रहेका थिए । कार्यालय प्रमुख शर्माका अनुसार अहिले अनलाइनबाट आफ्नो मतदाता नामावली बनाउन सकिने व्यवस्था रहेकाले जिल्लामा करिब ५५४ जना नयाँ मतदाता थपिएका छन् । जिल्लामा नयाँ मतदाता थपिनुअघि कुल ८० हजार ७३३ मतदाता रहेका थिए ।