बिकास अधिकारी
पश्चिम नवलपरासी, मङ्सिर ५ गते । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले एकैपटक ९२ जना कर्मचारी हटाएपछि सेवाप्रवाहमा असर पुगेको छ । गाउँपालिकाको तीन वटा शाखामा अहिले कर्मचारी छैनन् भने वडा कार्यालयको सेवाप्रवाहमा पनि प्रत्यक्ष असर पुगेको गाउँपालिकाले जनाएको छ ।
खर्च कटौतीका लागी सङ्घीय सरकारको परिपत्र अनुसार कर्मचारी गाउँपालिकाले कर्मचारी कटौती गरेको हो । अहिले कर्मचारी अभाव भएपछि गाउँपालिकाले आन्तरिक स्रोत वृद्धि गरेर कर्मचारी राख्ने तयारी गरेको छ । ‘‘२० जना जति कर्मचारी अत्यावश्यक भएकाले थप्नुपर्ने हुन्छ, त्यसका लागी आवश्यक निर्णय गर्न भोलि विशेष गाउँसभा आह्वान गरेका छौँ,’’ गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले भन्नुभयो ।
अहिले गाउँपालिकाको रोजगार, भूमि व्यवस्था र महिला बालबालिका शाखा कर्मचारी नहुँदा बन्द छन् । शाखानै बन्द गर्नुपर्ने अवस्था आएपछि केही कर्मचारी थप गर्न आवश्यक देखिएकाले सभामार्फत आवश्यक निर्णय गर्ने तयारी गरेको अध्यक्ष यादवले बताउनुभयो ।
‘‘केही कर्मचारी थप गरेन भने सेवाप्रवाहनै ठप्प हुने अवस्था छ, त्यसैले आन्तरिक स्रोत वृद्धि गर्ने उपायहरू खोजी गरिरहेका छौँ,’’ अध्यक्ष यादवले भन्नुभयो । गाउँपालिकाको आन्तरिक आम्दानी कम भएकाले आन्तरिक रुपमा स्रोत वृद्धि गर्न गाउँपालिकाले आयवृद्धिका काम सुरु गरेको छ । प्रतापपुर–५ बैदौलीमा पशु हाटबजार सञ्चालन गरेर चालु आर्थिक वर्षमा ५० लाखसम्म आम्दानी गर्ने लक्ष्य गाउँपालिकाको छ भने स्थानीय खोलाको नदीजन्य पदार्थको ठेक्का लगाएर आम्दानी वृद्धि गर्ने योजना अनुरूप काम सुरु भएको गाउँपालिकाले जनाएको छ ।
यसैगरी, पालिका भित्रका माछा पोखरीदेखि विभिन्न हाटबजारलाई व्यवस्थित गर्दे आन्तरिक आय वृद्धि गर्ने लक्ष्य बनाएको अध्यक्ष यादवले बताउनुभयो । हाल एक करोड तीस लाख मात्र पालिकाको आन्तरिक स्रोत रहेकाले त्यसमा डेढ करोडसम्म थप स्रोत वृद्धि गर्न प्रयास थालिएको उहाँले बताउनुभयो । स्रोत सुनिश्चित भएपछि कर्मचारी थप गर्दे जाने उहाँको भनाइ छ ।