बाजुरा समाचारदाता
बाजुरा, मङ्सिर ३ गते । बाजुराका भेडीगोठ अहिले औल (बेँसी) झरेका छन् । यहाँका उच्च भूभागमा चिसो बढेसँगै भेडीगोठ पनि धमाधम औल (बेँसी ) झरेका हुन् । कात्तिकको पहिलो सातादेखि नै यहाँ चिसो सुरु भएसँगै अहिले भेडीगोठ औल (बेँसी) झारेको बुढीनन्दा नगरपालिकाका स्थानीय प्रेमसिं गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँदमा यहाँका अधिकांश ठाउँमा हिमपात हुन्छ । त्योबेला भेडाबाख्राले खाने कुरा सबै हिउँले पुरिन्छ । त्यसैले भेडाबाख्रालाई पनि चरिचरन गर्न समस्या हुने भएकाले भेडीगोठ बेँसी सार्ने गरिन्छ ।”
हिउँदको महिना औल (बेँसी) तिर तातो हुने भएकाले यहाँ भेडीगोठलाई चरिचरन गर्न सहज हुन्छ । चैत, वैशाखको महिना यहाँ गर्मी हुने भएकोले त्यतिबेला फेरि ती भेडीगोठलाई लेकमै फर्काउने गरेको गुरुङले बताउनुभयो । पहिलेका पुस्ताले व्यवसाय तथा भेडापालन गर्नका लागि भेडीगोठलाई औल (बेँसी) सार्ने गरेका थिए । उनीहरूले तल्लो क्षेत्रका बुढीगङ्गा, त्रिवेणी, खप्तड छेडेदह र छिमेकी जिल्ला अछामका विभिन्न ठाउँमा लाने र त्यहाँका स्थानीयको गाउँघरमा नुन, तेल र चामलसँग बिक्री गर्ने गर्थे ।
अहिले ती सबै गाउँबस्तीमा सडक पुगेपछि त्यहाँका स्थानीयको घरमै गाडी गुड्न थालेका छन् । पहिला हाम्रा पुस्ताले उनीहरूको घरमा लिएर बिक्री गर्ने नुन, तेल, चामललगायतका दैनिक उपभोग्य सामग्री अहिले गाडीले उनीहरूकै घरमै पु¥याइदिन्छन् । व्यवसायका लागि नभई भेडाबाख्रापालन गर्नका लागि मात्र औलतिर सार्ने गरेको उहाँले बताउनुभयो । जिल्लाको पूर्वीउत्तर क्षेत्रका स्थानीयको भेडापालन पेसालाई पुख्र्यौली पेसाका रूपमा लिन सकिन्छ । पहिला गाउँमा सडकको पहुँच नहुँदा उनीहरूले यसै भेडाबाख्राको भरमा गाउँबस्तीमा नुन, तेल, चामल ढुवानी गर्ने गर्थे ।
उनीहरूले भेडामा दैनिक उपभोग्य सामग्री ढुवानी गरेर यहाँका अधिकांश गाउँबस्तीमा बिक्री गर्ने गर्थे । अहिले यहाँका सबै गाउँबस्ती सडक सञ्चालनको पहुँचमा भएपछि उनीहरूको त्यो व्यवसाय बिस्तारै सङ्कटमा पर्ने गरेको छ । त्यति मात्र होइन अहिले यहाँका भेडापालकलाई भेडापालन गर्नसमेत निकै समस्या हुन थालेको छ । यहाँका गाउँबस्तीमा रहेका वनजङ्गल सबै अहिले सामुदायिक भएपछि उनीहरूलाई भेडाबाख्रापालनमा यो सङ्कट आएको हो । भेडाबाख्रा चरिचरन गर्नका लागि ठुलो क्षेत्रमा रहेको वन चाहिन्छ तर यहाँ भएका सबै वन सामुदायिक भएकोले अहिले उनीहरूले बिस्तारै भेडापालन छोड्नुपर्ने अवस्था आएको छ ।