• ३ मंसिर २०८२, बुधबार

विद्युत् प्रसारण लाइन विस्तारमा अवरोध

blog

नेपालगन्ज समाचारदाता 

नेपालगन्ज, मङ्सिर ३ गते । यहाँ निर्माण भइरहेको ३३ केभी विद्युत् प्रसारण लाइन विस्तारका क्रममा कोहलपुर क्षेत्रमा स्थानीयले अवरोध गरेका छन् । लाइन विस्तार गर्दा स्थानीयलाई सुरक्षा खतरा रहेको भन्दै लाइन विस्तारमा अवरोध गर्नु परेको स्थानीयको भनाइ छ । 

नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जले पिप्रहवादेखि कोहलपुरस्थित सबस्टेसनसम्म पोल गाड्ने काम गरिरहेको छ । काम भइरहेको समयमा कोहलपुरस्थित पिपरी क्षेत्रमा स्थानीयले अवरोध गर्दा पोल विस्तारको काम रोकिएको छ । 

कोहलपुर नगरपालिका–९ का स्थानीय इन्द्र गौतमले लाइन विस्तार गर्दा स्थानीय र स्थानीय सरकारसँग समन्वय नगरिएको बताउनुभयो । उहाँले विकास गर्नु राम्रो काम भए पनि सम्बन्धित पक्षले समन्वयबिना नै काम गरेको जनाउँदै माग पूरा नभएसम्म काम अघि बढ्न नदिइने बताउनुभयो ।

पोल गाड्ने क्रममा खास गरी कोहलपुर नगरपालिका–८, ९ र १४ का नागरिकले अवरोध सिर्जना गरिरहेका छन् । स्थानीय सरकार र स्थानीय नागरिकसँगको कुनै पनि सहमति र समन्वयबिना सुरु गरिएको काम रोकिनुपर्ने उनीहरूको भनाइ छ । 

तीन वटै वडाका वडाध्यक्षले समेत उक्त कामप्रति असन्तुष्टि जनाएका छन् । कोहलपुर नगरपालिका–९ का वडाध्यक्ष ओपेन्द्रनाथ योगीले गोल्छादेखि पिप्रहवासम्म विद्युत्का पोल गाड्ने काम भइरहेको जनाउँदै वडालाई कुनै जानकारी नदिएर काम सुरु गराइएको बताउनुभयो । कोहलपुर नगरपालिका–१४ का वडाध्यक्ष नमबहादुर आलेमगरले वडाहरूमा जथाभाबी पोल गाड्दा स्थानीयले रोकेको बताउनुभयो । उहाँका अनुसार अब संवादबाटै समाधान निकाल्नु पर्छ । 

कोहलपुर नगरपालिका–८ का वडाध्यक्ष लालबहादुर रानाले लाइन विस्तार गर्दा कुनै पनि जानकारी नगराइएको दाबी गर्नुभयो । उहाँले घरनजिकै पोल गाड्दा सुरक्षा जोखिम हुने हुँदा स्थानीयले अवरोध गरेको बताउनुभयो । 

नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जले कोहलपुर क्षेत्रमा लाइन विस्तार गर्दा कार्यालयले नियमसङ्गत रूपमा काम गरिरहेको जनाएको छ । 

डिभिजन कार्यालयका प्रमुख दीपक गौतमले नेपालगन्ज–कोहलपुर सडकखण्डको पिप्रहवादेखि कोहलपुर–१० स्थित सबस्टेसनसम्म विद्युत्का पोल विस्तारको काम भइरहेको बताउनुभयो । 

उहाँले पोल विस्तार गर्दा स्थानीयले घरनजिकै पोल गाडिएको गुनासो गर्दै विरोध जनाएको जानकारी पाएको जनाउँदै सहमति अनुसार काम अगाडि बढाइने बताउनुभयो ।