कमल खत्री
धम्बोझी, मङ्सिर ३ गते । सम्झौता गरेर काम नगर्ने बर्दियाको अमन कन्स्ट्रक्सनलाई खजुराको गाउँपालिकाले कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको छ । सम्झौता गरेको चार वर्ष पुगिसक्दा पनि अमन कन्स्ट्रक्सनले योजना पूरा गर्न सकेको छैन । अमन कन्स्ट्रक्सनले ठेक्का पाएको पाँच वटा योजनामा कुनै प्रगति नदेखिएपछि कारबाहीको प्रक्रिया अगाडि बढाएको बताउनुहुन्छ, खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिृकत दिल बहादुर पौडेल ।
पौडेलले प्रमुख प्रशासकिय अधिकृतको रुपमा खजुराको जिम्मेवारी सम्हालेपछि काम योजना अलपत्र पार्ने कम्पनीलाई पटक–पटक ताकेता गर्दै काम सुरु गर्न दबाब दिँदै आउनुभएको छ ।
गाउँपालिकाले सार्वजनिक सूचना जारी जारी गर्दै अमन कन्स्ट्रक्सनलाई सम्पर्कमा आउनु सुचित समेत गरेको छ । तर अमन कन्स्ट्रक्सन प्रतिनिधिहरु आफुहरुको सम्पर्कमा आउन नचाहेको गाउँपालिकाले बतायो ।
खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले अब केहि दिनमा सम्पर्कमा नआए अमन कन्स्ट्रक्सनलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी रहेको बताउनुभयो ।
ठेकेदारका कारण लामो समयदेखि खजुरा विभिन्न ठाउँमा योजनाहरु अलपत्र परेको प्रशासकीय अधिकृत पौडेलले बताउँनुभयो ।
‘‘हामीले यसअघि पनि सार्वजनिक सूचना जारी गरेर योजनाहरुको जिम्मा लिएका ठेकेदार कम्पनीलाई सम्पर्कमा आउनको लागि सुचित गरेका थियौं,’’ अधिकृत पौडेलले भन्नुभयो, ‘‘सूजना जारी गरिएपछि नै विभिन्न ठाउँमा कामको जिम्मेवारी लिएका ठेकेदार कम्पनी सम्पर्कमा पनि आएका थिए ।’’ त्यसरी सम्पर्कमा आएका ठेकेदार कम्पनीका प्रतिनिधिहरुले बाँकी काम गर्छु भनेर प्रतिबद्धता जनाएका थिए ।
योजना सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि अमन कन्स्ट्रक्सन पुनः सम्पर्कविहीन भएको अधिकृत पौडेलले जानकारी दिनुभयो । ‘‘सम्पर्कमा आएर कम्पनीका प्रतिनिधिहरुले रहेको काम गर्छु भनेर प्रतिबद्धता जनाएका थिए ।’’ अधिकृत पौडेलले भन्नुभयो, ‘‘अहिले पुनः ति प्रतिनिधिहिरु कामै नगरेर सम्पर्क विहिन भएका छन् ।’’ काम गर्छु भनेकाले पालिकाले समय दिएको भए पनि अब भने कारवाही गर्नुपर्ने अवस्था आएको अधिकृत पौडेलले बताउनुभयो ।
उहाँका अनुसार कारवाहीगर्नका लागि पालिकाले सार्वजनिक सूचना जारी गरेको छ । पालिकाका विभिन्न योजनाहरु सम्पन्न नभएपछि यसअघि पनि सार्वजनिक सूचना जारी गरेर सम्पर्कविहीन भएका ठेकेदारलाई सूचित गरेको थियो । पालिकाले अमन कन्स्ट्रक्सन गुलरिया– ५ लाई कारवाही गर्ने प्रक्रिया सुरु गरेको हो । अमनले खजुराको पाँच वटा योजनाहरु अलपत्र पारेको छ ।
अमनले खजुरा गाउँपालिकासँग गरेको निर्माण सम्झौता अनुसार ठेक्कानम्बर १८/२०७७/२०७८ को एनआइसी बैंकदेखि मनकामना जाने सडक तथा नाली निर्माण, ठेक्का नम्बर १९/२०७७/२०७८ को गोपाल सिंह आलेको घरदेखि लालबहादुर रजालीको घरसम्मको बाटो स्तरउन्नती, ठेक्का नम्बर २४/२०७७/२०७८ को वडा नम्बर ४ ई गाउँ नेपाल राष्ट्रिय मनकामना आधारभूत निम्न माध्यमिक विद्यालयदेखि पूर्व एफगाउँजाने बाटो कालोपत्रे, ठेक्का नम्बर २७/२०७७/२०७८ को वडा नम्बर ३ बि गाउँ ९० नम्बरदेखि १०५ नम्बर सम्मको बाटो स्तर उन्नती र ठेक्का नम्बर २८/२०७७/२०७८ को वडा नम्बर ४ ई गाउँदेखि पूर्व एफगाउँ जाने बाटो स्तरउन्नतीको योजनाको काम पूरा गर्न सकेको छैन ।
योजना निर्माण गर्ने कामको जिम्मा लिएको तर काम सम्पन्न नगर्ने, सम्पर्कविहीन हुने ठेकेदार कम्पनी एक पटक कारवाही स्वरुप कालो सूचिमा परेपछि अन्त पनि ठेक्का लिन नपाउने कानुनी व्यवस्था छ । खजुराले गाउँपालिकाले सम्झौताअनुसारको काम सम्पन्न गर्न पटक पटक म्याद समेत थपगर्दा ठेकेदारले वेवास्ता गरेकाले सार्वजनिक खरिद ऐन २०६३ अनुसार कालो सूचिमा राख्न सिफारिस गर्ने जनाएको छ । सिफारिसस गरेसँगै ठेकेदारसँगको सम्झौता रद्द हुने र ठेकेदारले काम गर्ने भनेर ठेक्कालिने समयमा बैंक ग्यारेण्टी गरिएको रकम फिर्ता पाउँदैनन ।
ठेकेदार कम्पनी अमन कन्स्ट्रक्सन गुलरियाका प्रतिनिधि रमेश यादवले प्रयोग गर्ने मोबाइल नम्बर ९८४८०३८९२८ र ९८१९५२७६३७ मा योजनाको बारेमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
ठेकेदार कम्पनीका कारण खजुराका विभिन्न ठाउँमा सात वटा योजना अलपत्र भएका थिए । जसका कारण स्थानीयवासीले समेत सास्ती खेप्न परेको छ ।
गाउँपालिकाको ताकेतापछि केहि कम्पनी सम्पर्कमा आएर काम समेत गरेको प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो । उहाँकाअनुसार अस्पतल निर्माण कार्यको ठेक्का पाएको गौरा सिस्ने अमन जेभि नेपालगन्जले पुनर्निर्माणको कार्य गरिरहेको छ ।