टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), मङ्सिर ३ गते । अल्पसङ्ख्यक तथा सिमान्तकृत बोटे माझी समुदायको बाहुल्यता रहेको रुरुक्षेत्र गाउँपालिका–५ को बोटेगाउँमा नयाँ विद्यालय निर्माण भएको छ । साँघुरो र अप्ठ्यारो गरेर पठनपाठन भइरहेको लक्ष्मी आधारभूत बिद्यालय अहिले भवन भूकम्प प्रतिरोधी र सुविधा सम्पन्न बनेपछि स्थानीय अभिभावक, शिक्षक र विद्यार्थी खुसी भएका छन् ।
यु.डब्लु.एस. नेपाल, रुरुक्षेत्र गाउँपालिका स्थानीयको त्रिपक्षीय सहयोगमा १० कोठे विद्यालय भवन निर्माण भएको हो । विद्यालयमा रहेका १०४ विद्यार्थीहरु मध्ये ९५ प्रतिशत बोटे माझी परिवारका रहेको बिद्यालयको बिद्यालय व्यावस्थापन समिति अध्यक्ष सिद्धिनाथ श्रेष्टले जानकारी दिनुभयो । उहाँले २०१७ साल निर्माण भएको कच्ची भवनमाबाट सञ्चालित विद्यालय आधुनिक सुविधा सम्पन्न हुँदा आफुहरुलाई खुसी लागेको बताउनुभयो ।
यु.डब्लु.एस. नेपालले एउटै आकार र रङ भएका विद्यालय भवनसहित शैक्षिक विकासका कार्यक्रम सञ्चालन गर्न थालेको २०७४ सालबाट हो । अहिलेसम्म जिल्लाका सात पालिकामा २० विद्यालय निर्माण गरिसकेको छ ।
यु.डब्लु.एस नेपाल एक गैर–सरकारी संस्था हो । संस्थाले सम्झौताको पाँच वर्षपछि ती विद्यालयहरु स्थानीय तहलाई हस्तान्तरण गर्ने सम्झौता गरेको छ । सोहि सम्झौता अनुसार मुसिकोट नगरपालिकाको पशुपती निमावि, रेसुङ्गाको साउनेथुम आधारभूत विद्यालय, मदानेको पन्चमीपोखरी प्राबि, मालिकाको सिद्ध प्रावि, धुर्कोटको देविस्थान प्राबि र रामपोखरी प्रावि समुदाय र स्थानीय सरकारलाई हस्तान्तरण गरिसकेको यु.डब्लु.एस नेपालले जनाएको छ ।
यस्तै इस्मा गाउँपालिकाको पालुखा माबि र मालिकाकोे बरारुख आधारभूत विद्यालय पनि समुदाय र स्थानीय तहलाई हस्तान्तरण गर्न अहिले अनुगमन चलिरहेको यु.डब्लु.एस नेपालका लुम्बिनी प्रदेश संयोजक अनुज प्रसाद सिग्देलले जानकारी दिनुभयो । यु.डब्लु.एस नेपालले भौतिक पूर्वाधारसँगै विद्यार्थीहरुलाई गन्न, पढ्न, लेख्न तथा सपना देख्न सक्षम बनाउनका लागि उत्प्रेरित गरिरहेको सिग्देलले बताउनुभयो । संस्थाले भौगोलिक रुपले विकट गरिव तथा दलित एवम् विपन्न बस्तीहरुमा संस्थाले सहयोग गर्दै आएको छ ।
। संस्थाले रेसुङ्गामा एक, मुसिकोटमा दुई, धुर्कोटमा चार, मदानेमा तीन, मालिकामा सात र इस्मा गाउँपालिकामा तीन विद्यालय भवन निर्माणसहित शैक्षिक क्रियाकलाप सञ्चालन गरिरहेको छ । गुल्मी क्षेत्र नं २ मा काम गरिरहेको यु.डब्लु.एस नेपालले पछिल्लो समय क्षेत्र नं १ मा पनि काम सुरु गरेको छ । जसमा रुरुक्षेत्र गाउँपालिका ५ को बोटे गाउँमा लक्ष्मी आधारभूत विद्यालय भवन तथा शौचालय निर्माणको काम गरिसकेको यु.डब्लु.एस नेपालका निर्माण सहयोगी मेघराज खनालले जानकारी दिनुभयो । प्रत्येक ठाउँमा माग र आवश्यकताको आधारमा पाँच देखि ११ कोठासम्मको बिद्यालय संरचना संस्थाले आफ्नै कालिगडद्वारा निर्माण गर्छ ।
सन् २०२५ देखि शून्य शैक्षिक गरिबी कार्यक्रमअन्तर्गत स्थानीय सरकारसँगको साझेदारीमा मालिका गाउँपालिकामा सातवटा विद्यालय र इस्मा गाउँपालिकामा दसवटा गरी कुल १७ वटा विद्यालयमा गुणस्तरीय शिक्षाका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको यु.डब्लु.एस नेपालका राष्ट्रिय निर्देशक अभिनाश झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार २०३० सम्ममा गुणस्तरिय शिक्षाको प्रत्याभूती गराएर दुई पालिकालाई शून्य शैक्षिक गरिबी पालिका घोषणा गरिने छ । रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले यु.डब्लु.एस नेपालको शिक्षा क्षेत्रमा काम गर्ने मोडालिडी निकै उत्कृष्ट भएकाले आफुहरुले पनि सहकार्य थालेको बताउनुभयो । समयमै भौतिक पूर्वाधार निर्माण गर्ने, समुदाय र सरकारसँगको साझेदारी तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न यु.डब्लु.एस नेपालले उत्कृष्ट काम गरिरहेको ज्ञवालीले बताउनुभयो ।