• १६ भदौ २०८१, आइतबार

मनोरञ्जन क्षेत्रका श्रमिकको अधिकार संरक्षण गर्न प्रधानमन्त्रीसँग आग्रह

blog

प्रधानमन्त्री शेरबहादुर देउवालाई दोस्रो राष्ट्रिय भेलाको निष्कर्षसहितको घोषणापत्र बुझाउनुहुँदै विश्वास नेपालका अध्यक्ष तारा भण्डारी । तस्बिर : कविता थापा

काठमाडौं, असार २१ गते । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वास नेपाल संस्थाले १४ बुँदे घोषणा पत्र  हस्तान्तरण गरेको छ ।

मङ्गलबार मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रका श्रमिकहरुको अधिकारको संरक्षणका लागि नीतिगत व्यवस्था गर्न माग गर्दै संस्थाले १४ बुँदे घोषणा पत्र हस्तान्तरण गरेको हो ।

संस्थाका अध्यक्ष तारा भण्डारीले मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुलाई आफ्नो इच्छाले काम गर्न पाउने, स्वतन्त्र रुपमा रोजगारी छान्न पाउने अवस्था अझै नरहेको बताउनुभयो । साथै, उहाँले यस सेवामा काम गरेको आधारमा सामाजिक रुपमा नै अपहेलित हुनुपर्ने तथा कोठा भाडा सहज रुपमा नपाउने अवस्था विद्यामान रहेकोले यसलाई सहज बनाउन माग गर्नुभएको छ ।

उहाँले नेपालको संविधान २०७२ ले महिला, बालबालिका तथा श्रमिकहरुको हकको सुनिश्चितता गरेको समेत जानकारी दिनुभयो ।

मनोरञ्जन क्षेत्रको मुद्दालाई राजनीतिक मुद्दाको बहसको रुपमा लिँदै यस क्षेत्रका श्रमिकहरुको आधिकारिक तथ्याङ्ग राख्न प्रत्येक स्थानीय तहमा श्रम डेक्सको व्यवस्था गर्नुपर्ने उहाँको माग छ ।

त्यस्तै, श्रमिक तथा रोजगारदाता र सरकारी निकाय मिलेर यस क्षेत्रमा के कस्ता काम गर्न पाउने वा नपाउने त्यसको लागि कर्मचारीको कार्यक्षमता, रोजगारदाताको जिम्मेवारीलाई ध्यानमा राखी जिल्ला समन्वय समिति र विश्वास नेपालले निर्माण गरेको अनुगमन निर्देशिका र मापदण्डको निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । 

अध्यक्ष भण्डारीका अनुसार यो निर्देशिका, मापदण्ड स्थानिय तहबाट पास गराई लागू गर्नका लागि पहल गर्न र यससँग सम्बन्धित विशेष कानुन बनाउनुपर्ने घोषणापत्रमा लेखिएको छ ।