गोकुल भुजेल
भोजपुर, कात्तिक १६ गते । स्थानीय तह र मातहतका स्वास्थ्य संस्थाहरूबाट सम्पादित स्वास्थ्यका कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षामा प्रगति मूल्याङ्कन गर्दा जिल्लाका नौ वटा स्थानीय तहमध्ये भोजपुर नगरपालिका जिल्लाकै पहिलो भएको छ । नगरपालिकाले ७७ दशमलव २२ अङ्कसहित प्रथम स्थान हासिल गरेको छ ।
भोजपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गर्भवती तथा सुत्केरी स्याहार एवं पोषण कार्यक्रम, बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्ग, किशोर किशोरी लक्षित स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाको सबै वडामा स्वास्थ्य उपचार केन्द्र, आवश्यक उपकरण, औषधि, स्वास्थ्यकर्मी, स्वास्थ्य शिविर, लक्षित समुदाय तथा व्यक्तिहरूलाई सहज स्वास्थ्य उपचार, एम्बुलेन्स लगायतको राम्रो व्यवस्था भएकाले स्वास्थ्य क्षेत्रमा पालिकाले अपेक्षित उपलब्धि हासिल गरेको स्वास्थ्य शाखाकी कर्मचारी ज्ञानु श्रेष्ठले बताउनुभयो ।
जिल्लाको साल्पासिलिछो गाउँपालिकाले ७६ दशमलव १६ अङ्कसहित दोस्रो, पौवादुङमा गाउँपालिकाले ७४ दशमलव ४७ अङ्कसहित तृतीय भएको छ । क्रमशः अरुण गाउँपालिकाले ७४ दशमलव ८ अङ्क, षडानन्द नगरपालिकाले ७३ दशमलव ३१ अङ्क, टेम्केमैयुङ गाउँपालिकाले ७२ दशमलव ३२ अङ्क, रामप्रसादराई गाउँपालिकाले ७१ दशमलव ८९ अङ्क, आमचोक गाउँपालिकाले ७१ दशमलव ७१ अङ्क, हतुवागढी गाउँपालिकाले ६६ दशमलव १० अङ्कसहित अन्तिम स्थानमा छ ।
जिल्लास्तरीय मूल्याङ्कन समितिले विभिन्न सूचकको आधारमा गरेको मूल्याङ्कन अनुसार स्थानीय तहले स्वास्थ्य क्षेत्रमा प्रवाह गरेको सेवालाई आधार मानी मूल्याङ्कन गर्दा भोजपुर नगरपालिका पहिलो भएको स्वास्थ्य कार्यालय भोजपुरकी कार्यालय प्रमुख सृजना बनमालीले जानकारी दिनभयो । साथै उहाँले स्थानीय तहमा भएका समस्या तथा पूरा हुन नसकेको सूचकहरूमा थप कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।