सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) कात्तिक १६ गते । धनकुटामा जनप्रतिनिधिको जिम्मेवारीमा रहेका दुईजना वडाध्यक्ष सफल कृषकको रुपमा पहिचान बनाउँदै आएका छन् । कृषि क्षेत्रमा लागानी, मेहनत र आम्दानी बढाउँदै गएसँगै कृषि क्षेत्रमा आफ्नो पहिचान बनाउँदै आएका छन् ।
धनकुटा नगरपालिका–२, स्थित भिरगाउँका चन्द्रलाल तामाङ र महालक्ष्मी नगरपालिका–१ घुमाउनेका टेकबहादुर गुरुङ जनप्रतिनिधिको जिम्मेवारीसँगै लामो समयदेखि कृषि कर्ममा समेत सक्रिय रुपमा रहनुभएको छ । उहाँहरु जनप्रतिनिधिमा जनताको मतबाट दोस्रो कार्यकाल सम्हाली रहनुभएका व्यक्ति हुनुहुन्छ । वडामा बसेर जनताको दैनिक काम र गुनासा सम्बोधनसँगै बाँकी समय तरकारी खेती र पशुपालनबाट मनग्गे आम्दानी गरिरहनुभएको छ । उहाँहरू जनताको सेवाबाट सफल जनप्रतिनिधिसँगै सफल कृषक, तथा युवाहरूका लागि प्रेरणाका स्रोत बन्नुभएको छ । उहाँहरुले गरेको कृषि कर्म र समाज सेवाले सबैको मन लोभ्याउने गर्नुभएको छ ।
तामाङ मेहनती किसान, समाज सेवी र इमानदार जनप्रतिनिधिको रुपमा आफ्नो परिचय बनाउनुभएको छ । बिहान उठेर गोठको कामबाट दिनको सुरुवात गर्ने उहाँको गाई फार्म रहेको छ । दैनिक एक यस ८० लिटर दूध उत्पादन गर्नुहुन्छ । गाउँ मै केही गरेर देखाउने सोच लिएर कृषि कर्ममा लागेर मेहनत गर्न सक्ने हो भने यही माटोमा सुन फलाउन सकिने कृषि कर्ममा लाग्नुभएको वडाध्यक्ष तामाङ बताउनुहुन्छ । युवाहरूले विदेशको सपना होइन, देश मै केही गर्ने सपना देख्नु पर्ने उहाँको भनाइ रहेको छ । पशुपालनमा मात्र हैन तरकारी खेतीमा पनि उहाँको उल्लेख्य योगदान छ । ताजा तरकारी गाउँ मै उत्पादन गरेर उनले मनग्गे आम्दानी लिइरहनु भएको छ ।
उहाँले आम्दानी मात्रै नभई आत्मसम्मान पनि कमाइ रहनुभएको छ । २०७२ साल मै राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भइसकेका तामाङ २०७४ सालमा वडाअध्यक्षमा निर्वाचित हुनुभएको थियो । वडाको जिम्मेवार थपिएपछि दैनिक बिहान ५ बजे उठ्ने गरेको भए पनि अहिले बिहान ३ बजे उठ्नु पर्ने भएको बताउनुहुन्छ । श्रीमती रामकुमारी तामाङले अहिले उहाँलाई कृषि कर्ममा पूर्ण रूपमा साथ दिँदै आनउनु भएको छ । श्रम घटाउन घाँस काट्ने मेसिन, गाईको थलोमा काउम्याट आदिको प्रयोग गरी गाई फम सञ्चालन गर्नुभएको छ ।
यस्तै महालक्ष्मी नगरपालिका–१ का वडाअध्यक्ष टेकबहादुर गुरुङको दैनिकी पनि उस्तै रहेको पाइन्छ । वि.सं. २०७४ सालको निर्वाचनमा वडाअध्यक्षमा निर्वाचित भइ सकेपछि गुरुङ पनि आम नागरिकको सेवासँगै कृषि कर्मलाई निरन्तरता दिँदै आइरहनुभएको छ । गुरुङले लामो समयदेखि तरकारी खेती तथा गाइ पालन गर्दै आउनुभएको छ । उहाँले वार्षिक ५० देखि ६० लाखको लक्ष्य लिएर तरकारी खेती गर्दै आएका आएको बताउनुहुन्छ । कुनै–कुनै सिजनमा भने तरकारी बजार भाउ भने जस्तो नहुँदा केही समस्या हुने उहाँ बताउनुहुन्छ ।
कुनै समय राखेको लक्ष्यभन्दा माथिको तरकारी बिक्री हुने तथा कुनै समय लगानी समेत नउठ्ने समस्या हुने गरेको गुरुङको भनाइ हरेको छ । उहाँले वार्षिक सरदर करिब ३० लाखसम्मको हरियो सागपात तथा तरकारी बिक्री गर्दै आएको बताउनुभयो । तरकारी खेती बाहेक दैनिक दूध उत्पादन गरी बिक्री गर्दै आएको र राम्रो आम्दानी पनि गरिरहेको उहाँको भनाइ रहेको । गुरुङले दैनिक ४५ लिटर दूध बिक्री गर्दै आइ रहनुभएको छ । सरकारले कृषिमा चासो नदिँदा कृषि उपजको बजारीकरणको समस्या हुने गरेको बताउँदै विचौलियाको नियन्त्रणमा जान नदिए सहज हुने उहाँको भनाइ रहेको थियो ।
उहाँ निर्वाचित वडाअध्यक्ष भएपछि वडामा गोठ सुधार कार्यक्रम, अनुदानमा घाँस काट्ने मेसिन, मिनिटिलर वितरण सहित वडामा रहेका ८ वटा टोलमा ५/५ वटा उन्नत जातको गाई वितरण गरेको जानकारी दिनुभयो । यस्तै, वडाका हरेक घरमा चार सय लिटरको पानी तताउने मेसिन वितरण गर्ने र गाई दुहुने मेसिन वितरणको तयारी रहेको बताउनुभयो । महालक्ष्मी नगरपालिका–१, मा ८० प्रतिशत परिवार व्यवसायिक रहेको र दैनिक ६ लाख रुपियाँ बराबरको दूध उत्पादन हुने गरेको गुरुङको भनाइ छ ।
वडाध्यक्ष समेत रहेका कृष तामाङ र गुरुङ २०७४ सालमा पहिलो पटक र २०७९ सालमा दोस्रो पटक वडाअध्यक्षमा निर्वाचित भएका हुन् । कृषि कर्ममा तल्लीन रहनु भएका उहाँहरुले २०७४ मा वडाअध्यक्षमा निर्वाचित भएपछि जनताको सेवामा पनि कमि हुन नदिएको उहाँहरु बताउनुहुन्छ । वडाको जिम्मेवारी सकिएपछि पूरा समय कृषिलाई दिएर अझै बढि आम्दानी र रोजगारी सिर्जना गर्ने योजना रहेको तामाङ र गुरुङको भनाइ छ ।