अछाम, कात्तिक १६ गते । अछामको प्रमुख व्यापारिक केन्द्र साँफेबगर नगरपालिका वडा नम्बर ३ स्थित हाटबजारमा शनिबार राति आगलागी भएको छ । आगलागीमा परी ७ वटा पसल पूर्णरुपमा जलेर खरानी बनेका छन् । स्थानीयहरुका अनुसार आगो करिब पौने ९ बजेतिर सुरु भएको थियो ।
गत वैशाख १३ गते यसै स्थान नजिकै आगलागी भएर ठुलो क्षति भएको थियो । छ महिनामै दोस्रो पटक लागेको आगलागीले बजारका व्यापारीहरु पुनः शोकमा डुबाएका छन् । सुरक्षा निकाय र स्थानीय बासिन्दाले निर्माण व्यवसायी गौतम कुँवरको जेसिबी र ईन्दसरा आयल स्टोरको पानी ट्याङ्करको सहायतामा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिन सफल भएका थिए ।
आगलागीबाट जलेर नष्ट भएका पसलहरुमा अशोक कुँवरको जुत्ता पसल, महेन्द्र कार्कीको किराना पसल, बलबहादुर कुँवरको होटेल, सुमन कुँवर (ईभी) को काण्टर/डोका डाला पसल, कर्ण कुँवरको अग्रोभेट सेन्टर, वैद्यनाथ फेन्सी स्टोर र नरबहादुर गिरीको सिलाइ–कटाइ पसल छन् । प्रारम्भिक अनुसन्धान अनुसार, विद्युत् सर्ट भएका कारण आगलागी भएको जिल्ला प्रशासन कार्यालय अछामले जानकारी दिएको छ ।
संयुक्त प्रयासले आगो नियन्त्रणमा लिए पनि पसलभित्रका सामान जोगाउन भने सकिएन ।
प्रारम्भिक अनुमान अनुसार आगलागीबाट लाखौँ रुपियाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय प्रशासनले पीडित व्यापारीहरुलाई राहत र क्षतिको विवरण सङ्कलन कार्य अघि बढाएको जनाएको छ । यस अघि वैशाखमा पनि उक्त क्षेत्र नजिकै आगलागी भएको थियो ।