• १६ कात्तिक २०८२, आइतबार

खेलकुदमन्त्री गुप्ताद्वारा त्रिवि क्रिकेट मैदानको निरीक्षण

blog

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निरीक्षण गर्नुहुँदै । तस्बिर : विकास द्वारे

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १६ गते । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले शनिबार कीर्तिपुरस्थित निर्माणाधीन त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निरीक्षण गर्नुभएको छ ।

मन्त्री गुप्ताले क्रिकेट मैदानको पुनर्निर्माणले नेपाली क्रिकेटरहरूको मनोबल उच्च बनेको धारणा राख्दै क्रिकेट मैदानलाई थप उत्कृष्ट बनाउन क्यानसँग निरन्तर छलफल भइरहेको बताउनुभयो ।

त्रिवि क्रिकेट मैदानमा अहिले १० हजार दर्शक क्षमता भएको प्याराफिटको निर्माण सम्पन्न भइसकेको छ । अहिले पहिलो चरण अन्तर्गत छ वटा फ्लड लाइट्सको जडान कार्य पनि अन्तिम चरणमा पुगेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्सिर १ गतेदेखि हुने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) फ्लड लाइट्समा गर्ने तयारी पनि गरिरहेको छ ।

एक दिनअघि खेलकुदमन्त्री गुप्ताले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको पनि अवलोकन गर्नुभएको थियो । सो अवसरमा र खेलकुदमन्त्री गुप्ताले रङ्गशालाको विविध पक्षबारे जिज्ञासा राख्नुभएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले मन्त्री गुप्तालाई रङ्गशालाबारे जानकारी गराउनुभएको थियो ।

‘भलिबलको कभर्ड हल बनाउने प्रयास हुँदै छ’

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राष्ट्रिय खेल भलिबलको अन्तर्राष्ट्रिय कोर्ट बनाउन जग्गाको खोजी भइरहेको बताउनुभएको छ । काभा यु–१९ महिला भलिबल प्रतियोगिता खेल्न जाने नेपाली महिला टिमको बिदाइ कार्यक्रममा खेलकुदमन्त्री गुप्ताले देशको राष्ट्रिय खेल भलिबलको कोर्ट राजधानीको मुटुमै बनाउने प्रयास गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भलिबल राष्ट्रिय खेल हो तर यसको अहिलेसम्म आफ्नो कोर्टसहितको हल छैन । त्यसैले यसका लागि जग्गा खोज्ने विषयमा छलफल हुँदैछ । लाजिम्पाटमा भएको स्काउटको जग्गामा भलिबलको कभर्ड हल बनाउन खोेजेका छौँ । यस विषयमा चाँडै निष्कर्षमा पुगिने छ ।”

यसै गरी उहाँले आगामी दिनमा कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी अन्तर्गत कम्पनीहरूले एक प्रतिशत रकम अनिवार्य खेलकुद विकास कोषलाई दिनुपर्ने प्रावधानका लागि पनि पहल गरिने बताउनुभयो । उहाँले खेलाडीको पुरस्कारमा कर नकाट्ने, वडास्तरदेखि केन्द्रसम्मका खेलाडीको पोर्टल बनाउने तथा दशरथ रङ्गशालालाई पुनः अन्तर्राष्ट्रिय मान्यताप्राप्त बनाउने कार्य पनि अगाडि बढ्ने छ, भन्नुभयो । नेपाली युवा महिला भलिबल टिम काभा यु–१९ खेल्न श्रीलङ्काको कोलम्बो जाँदै छ । नेपाल भलिबल सङ्घले शनिबार गरेको बिदाइ कार्यक्रममा खेलकुदमन्त्री गुप्ताले गत महिना नेपाली महिला फुटबल टिमले भारतमा बेहोरेको तनावको उदाहरण दिँदै यो टिम श्रीलङ्का जाँदा यात्रा तालिका राम्रो बनाउन सुझाव पनि दिनुभयो । यसै गरी उहाँले टिमलाई शुभकामना दिँदै राष्ट्रिय झन्डाको गौरव बढाएर आउन सुभेच्छा दिनुभयो ।

उपाधिको लक्ष्य

कोलोम्बोमा आगामी कात्तिक १८ देखि २३ गतेसम्म काभा यु–१९ प्रतियोगिता हुँदै छ । प्रतियोगितामा नेपाल, श्रीलङ्का, माल्दिभ्स र कीर्गिस्तान सहभागी छन् । गत वर्ष माल्दिभ्समा काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको रूपमा पहिलो संस्करण भएको थियो । सो प्रतियोगितामा नेपाल तेस्रो भएको थियो । सो प्रतियोगिता खेलेका जेनिसा विश्वकर्मा, मीना सुनार, आसिका क्षेत्री, निशा महर, एन्जिला प्रधान र भावना तामाङ अहिलेको टिममा पनि हुनुहुन्छ । जेनिसा कप्तानको भूमिकामा हुनुहुन्छ । अन्य खेलाडीमा सम्झना नेपाली, प्रतिभा चौधरी, स्निता खत्री, रेवका लामा तामाङ र विनिता राना हुनुहुन्छ ।

प्रशिक्षक कुमार राईले यसपालि पछिल्लो संस्करणभन्दा राम्रो प्रदर्शन हुने बताउनुभयो । पछिल्लो पटक नौ दिनको मात्र तयारी थियो । यसपालि लामो तयारी भएको छ । खेलाडीहरूमा अनुभव पनि छ । टिमको सबै पक्ष अहिले राम्रो छ । मैले अहिले नेपाललाई अन्य टिमभन्दा बलियो मानेको छु, उहाँले भन्नुभयो । कप्तान जेनिसाले च्याम्पियन बन्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलोको भन्दा राम्रो गर्ने लक्ष्य छ । सबै टिम बराबर छन् । त्यसैले कोर्टमा जसले राम्रो खेल्छ, त्यसैले सफलता हात पार्ने छ ।’’