प्रतीक इच्छुक शर्मा
सल्यान, कात्तिक १६ गते । सल्यानको दार्मा गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २४७ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । शिविरमा ज्वरोका लक्षण देखिएका ६७ जनामध्ये २३ जनामा स्क्रब टाइफस र एक जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतका अनुसार पछिल्ला केही दिनयता गाउँपालिका तथा आसपासका क्षेत्रमा उच्च ज्वरो र अज्ञात रोगका कारण स्थानीयहरू प्रभावित भएपछि रोगको पहिचान र नियन्त्रणका लागि उक्त शिविर सञ्चालन गरिएको वताउनुभयो ।
उहाँका अनुसार दार्मा गाउँपालिका–३ थुम्केसल्लीमा सम्पन्न शिविरमा महिला १४६ जना र पुरुष १०१ जना गरी जम्मा २४७ जनाले विभिन्न स्वास्थ्य परीक्षण गराएका थिए । दार्मागाउँपालिकामा हाल स्क्रब टाइफसको सङ्क्रमण तीव्र गतिमा फैलिँदै गएको र यसले महामारीको रूप लिन सक्ने आशङ्का बढेकाले सचेतना तथा उपचारका उपायहरू तीव्र बनाइएको छ ।
स्वास्थ्य शिविर दार्मा गाउँपालिकाको आयोजनामा, जेन्जीको समन्वयमा र जिल्ला अस्पताल सल्यानका चिकित्सक तथा प्राविधिकहरूको सहयोगमा सञ्चालन गरिएको थियो ।
दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले हाल गाउँपालिकामा अज्ञात रोगका कारण उच्च ज्वरोका समस्या देखिँदै आएको र चारजनाको मृत्यु भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयहरूमा त्रास फैलिएको अवस्थामा गाउँपालिकाले स्वास्थ्य जोखिम न्यूनिकरणका लागि शीघ्र पहल थालेको छ । शिविरबाट रोगको प्रारम्भिक पहिचान, स्वास्थ्य जनचेतना अभिवृद्धि तथा समस्या समाधानमा सहयोग पुगेको छ ।
आगामी दिनमा पनि नियमित स्वास्थ्य परीक्षण कार्यक्रम, सचेतना अभिवृद्धि र जिल्ला अस्पताल तथा प्रदेश सरकारसँग समन्वय गरी विशेष स्वास्थ्य अभियान सञ्चालन गर्ने तयारी गरिएको केसीको भनाइ छ ।
दार्मागाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलील गाउँपालिकाले कात्तिक १६ गते दार्मा गाउँपालिका–५ त्रिवेणी स्वास्थ्य चौकीमा अर्को निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी भएको छ । उहाँका अनुसार शिविरमा ज्वरो, सरुवा रोग, महिलासम्बन्धी समस्या तथा अन्य रोगहरूको परीक्षण र परामर्श सेवा प्रदान गरिनेछ ।