रामकृष्ण बोहरा
बाग्लुङ, कात्तिक १५ गते । सामाजिक कार्यमा सक्रिय देउराली चोकको आमा समूह बागलुङले तिहारको अवसरमा आयोजित देउसीभैलो कार्यक्रममा संकलित रकममध्ये केही रकम मानवसेवा आश्रमलाई हस्तान्तरण गरेको छ ।
देउसीभैलो खेलेर संकलन भएको रकमबाट बागलुङ नगरपालिका –४ निरयघाटमा निर्माणाधीन मानवसेवा आश्रमको भवन सम्पन्न गर्नका लागि नगद १ लाख ५ सय ५५ रुपियाँ हस्तान्तरण गरेको हो ।
‘‘देउसी भैलो कार्यक्रमबाट संकलित रकम विभिन्न ठाउँमा सहयोग गर्ने क्रममा मानवसेवा आश्रमका लागि पनि सहयोग गरेका छौं’ समूहकी कोषाध्यक्ष रुपा थापाले भन्नुभयो, ‘‘सानो सहयोगले आश्रमको निर्माण र सञ्चालनमा टेवा पुग्ने विश्वास गरेका छौ ।’’
शनिबार मानव सेवा आश्रम आयोजित एक कार्यक्रमबिच समूहकी अध्यक्ष सरिता थापामगर, उपाध्यक्ष गौरी रोकामगर, सचिव खगीसरा थापामगर, सहसचिव हरिकला थापामगरसहित समूहका सदस्यले मानव सेवा आश्रम बागलुङकी अभिभावक लक्ष्मी बासकोटा र व्यवस्थापक विपना तामाङलाई रकम हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा सहयोग रकम ग्रहण गर्दै मानवसेवा आश्रम बागलुङकी अभिभावक लक्ष्मी बास्कोटाले सबैको सहयोगबाट मानवताको स्मारक निर्माण अगाडि बढाइएको र महायज्ञमार्फत त्यसलाई पूरा गर्ने लक्ष्य लिएको बताउनुभयो । ‘‘धेरै जनाको सहयोगबाट स्मारक निर्माण अगाडि बढेको छ’’ बास्कोटाले भन्नुभयो ।
देउरारी चोक आमा समूहकी अध्यक्ष सरिता थापामगरले बागलुङ बजारमा बस्दा केही अप्ठ्यारो पर्दा र खुसी तथा उत्सव तथा शुभकार्यहरु गर्दा पनि समूहले सहयोग गर्दैआएको बताउनुभयो । ‘‘हामीले देउसीभैलोमार्फत संकलित रकम विभिन्न सामाजिक कार्यमा खर्च गर्दैआएका छौं’’ थापामगरले भन्नुभयो ।
निरयघाटमा निर्माणाधीन आश्रम भवन सम्पन्न गर्न आगामी कात्तिक २१ गतदेखि २८ गतेसम्म महायज्ञको आयोजना गरिएको छ । भवन निर्माण भएपछि २ सयभन्दा बढी आश्रितलाई आश्रममा राख्न सकिनेछ । अहिले ६६ जना आश्रममा आश्रित रहेको आश्रमकी व्यवस्थापक विपना तामाङले बताउनुभयो ।