ठाकुरप्रसाद आचार्य  
म्याग्दी, कात्तिक १४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चारवटा पर्यटकीय स्थलहरुबाट चालु आर्थिक २०८२/०८३ मा एक करोड १५ लाख रुपियाँभन्दा बढी आन्तरिक आम्दानी सङ्कलन गरेको छ ।
गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरु पुनहिल, भुरुङ तातोपानी, पाउद्वार तातोपानी र रातोपानी तातोपानी कुण्डलाई आय ठेक्कामा लगाएर पालिकाले चालु आर्थिक वर्षमा एक करोड १५ लाख २१ हजार ८० रुपियाँ आन्तरिक आम्दानी गरेको हो । उक्त रकम अग्रिम रुपमा पालिकाको खातामा जम्मा भइसकेको छ ।
गाउँपालिकाले पर्यटकीय स्थलहरुको सञ्चालन, प्रवेश शुल्क, होटल र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर चालु आ.व.मा उक्त आम्दानी गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले जानकारी दिनुभयो ।
होटल शिखर प्रा.लिसँग पर्यटकीय स्थल पुनहिल सञ्चालनका लागि ४५ लाख ९० रुपियाँ, होटल हट स्प्रिङसँग भुरुङ तातोपानी कुण्ड व्यवस्थापन तथा सञ्चालनका लागि ४५ लाख ९० रुपियाँ, द वल्ड कमला होटल सँग पाउद्धार तातोपानी कुण्ड सञ्चालन गर्न २२ लाख ५० हजार नौ सय रुपियाँ र रातोपानी तातोपानी कुण्ड सञ्चालनका लागि होटल उत्तम एण्ड रेष्टुरेण्टसँग दुई लाख ७० हजार रुपियाँमा आय ठेक्का सम्झौता गरिएको गाउँपालिकाका सूचना अधिकारी भवती खड्का कटुवालले जानकारी दिनुभयो ।
सम्झौता गर्ने पक्षले अग्रिम रुपमा रकम गाउँपालिकालाई बुझाएकाले आर्थिक कार्यविधि अनुसार दस प्रतिशत छुट दिएर उक्त रकम पालिकाको खातामा जम्मा गर्ने गरी आय ठेक्का सम्झौता गरिएको उहाँले बताउनुभयो ।
पर्यटकीय स्थलहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुका साथै पालिकाको आन्तरिक आम्दानी समेत वृद्धि गर्न पर्यटकीय स्थलहरुलाई आय ठेक्कामा लगाइएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
साथै गाउँपालिकाले खोप्रालेक, मोहरेडाँडा, रुप्से छहरा, घोडेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा,हुमखोला र मौरिस हर्जोग पदमार्गका विभिन्न ठाउँमा रहेका होटल, रेस्टुरा तथा कफिसफबाट समेत व्यवसाय कर सङ्कलन गरेर आन्तरिक आम्दानी गर्दै आएको छ ।
गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलको पूर्वाधार विकास, प्रचार–प्रसार र प्रवर्धन गर्दै स्थानीयवासीको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक आम्दानी बढाउन तर्फ जोड दिइएको गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभयो ।
अन्नपूर्ण प्रथम हिमालको आधारशिविरमा पर्यटकीय पूर्वाधार निर्माण आन्तरिक पर्यटन प्रवर्धनको काम गाउँपालिकाले गरेको छ । यसैगरी गाउँपालिकाको खोप्रा क्षेत्रमा सञ्चालित होटललाई वार्षिक रूपमा व्यवसाय करबापत हरेकलाई ३० हजार र सार्वजनिक जग्गा प्रयोग गरेबापत ३६ हजार बहालबटौली कर लिने गरेको छ ।
गाउँपालिकाले मोहरेडाँडा, रुप्से छहरा र घोडेपानी, अन्नपूर्ण आधार शिविरलगायत मौरिस हर्जोग पदमार्गका विभिन्न स्थानमा खुलेका होटल, रेष्टुरेन्ट तथा कफीसपबाट समेत व्यवसाय कर सङ्कलन गरेर आन्तरिक आम्दानी गरेको छ । गाउँपालिकाले पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माण र प्रवर्धनका कामहरु पनि गर्दै आएको छ ।  
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                