• ४ कात्तिक २०८२, मङ्गलबार

आगलागी हुँदा ४० लाखभन्दा बढीको क्षति

blog

फाइल तस्बिर

प्रवीणकुमार शर्मा 

रौतहट, कात्तिक ४ गते । रौतहटको दुई छुट्टाछुट्टै ठाउँमा सोमबार राति आगलागी हुँदा  ४०  लाखभन्दा बढीको क्षति भएको छ । 

सोमबार राति ९ बजेर ५० मिनेटको समयमा गरुडा–८, विर्ता चोकमा रहेको  केदारनाथ साहको घरमा गरुडा–९ का  विक्रमकुमार साहले सञ्चालन गरेको शुभलक्ष्मी महिमा वस्त्रालयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

आगलागीबाट ३० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको प्रहरी चौकी विर्ताका प्रहरी हवलदार राजु साहले जानकारी दिनुभयो । प्रहरी चौकी विर्ताको टोली र स्थानीयहरूको सहयोगमा राति १० बजेर २५ मिनेटमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

आगलागीबाट  पसलमा रहेको कपडाहरू, काठको र्याक आंशिक रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो । क्षतिको आधिकारिक विवरण सङ्कलन जारी रहेको तथा के–कसरी आगलागी भएको हो भन्नेबारे बुझ्ने काम भइरहेको उहाँले बताउनुभयो ।

त्यस्तै सोमबार राति ११ बजेको  समयमा यमुनामाई गाउँपालिका–१, सुकदेवचोकमा आगलागी भएको छ । यमुनामाई–१, जेठरहियाका छोटेलाल साहले आफ्नै घरमा सञ्चालन गरेको शिवकरण हार्डवेयर स्टोर्स पसलमा पूजागर्न बालेको मैनवत्ती पगलेर आगलागी हुँदा १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता कार्कीले जानकारी दिनुभयो । 

आगलागीबाट  कलर बनाउने मेसिन एक थान, कलर राखेको बालटिन दस थान र  नगद ५० हजार रुपियाँ जलेर नष्ट भएको उहाँले बताउनुभयो ।